सिभिल सहकारी ठगी प्रकरणः इच्छाराज तामाङलाई थुनामा पठाउन आदेश



काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

पूर्वसांसद समेत रहेका तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । तामाङसहित अहिलेका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

तामाङमाथि सहकारीको करिब ८ अर्ब वचत रकम ठगीको आरोप लागेको छ । सोही आरोपमा जिल्ला अदालतले यस्तो आदेश दिएको हो । प्रहरीले पक्राउ गरेको १२ जनामध्ये अदालतले ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

जसमा पूर्वलेखासमिति सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।

यस्तै जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । तामाङ विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा असोज पहिलो साताबाट उजुरी परेको थियो ।


क्लिकमान्डु