सोलुखोला दूधकोशी जलविद्युतमा भएको दुर्घटनाबारे सरकारले गठन गर्यो छानबिन समिति



काठमाडौं । निर्माणाधिन एक जलविद्युत् आयोजनामा कमजोर पाइप र जडानका कारण दुर्घटनामा २ जना इन्जिनियरको निधन भएपछि सरकारले चासो व्यक्त गर्दै छानबिन समिति गठन गरिएको छ ।

सोलुखुम्बुमा निर्माणाधिन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनामा इञ्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो । अर्का एक कर्मचारी घाइते भई उपचारको क्रममा छन् ।

सरकारले सो दुर्घटनामा चासो व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन् ।

सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । दुर्घटनामा थप एक कर्मचारी घाइते हुनुभएको छ । साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भएको हो ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ ।

प्रवर्द्धक साहस ऊर्जाले दुर्घटनाको बारेमा आन्तरिकरुपमा नै छानबिन भइरहेको र घाइतेको उपचार भइरहेको जानकारी दिएको छ ।

पाइपलाइनले पानीको प्रेसर थाम्छ वा थाम्दैन भन्ने बारेमा परीक्षणको क्रममै विस्फोट भएको घटनालाई अन्य ऊर्जा प्रवद्र्धकले पनि चासोका साथ हेरेका छन् ।

त्यसमा परामर्शदाता र हाइड्रोमेकानिकल ठेकेदारको समेत कमजोरी देखिएको छ । कहाँ कसको कमजोरी र बदमासी भयो भन्ने बारेमा छानबिनपछि उपयुक्त प्रतिवेदन तयार पार्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्ने माग समेत उठेको छ ।

२५ वर्षपछि सरकारलाई बुझाउने न हो भन्दै निर्माणाधिन आयोजनामा कमजोर सामग्री प्रयोग गरिएको भन्दै ऊर्जा प्रवर्द्धकहरु माथि बेला बेलामा प्रश्न उठ्ने गरेको छ । पछिल्लो दुर्घटनाले त्यसैमा बल प्रदान गरेको छ ।

यसैबीच स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानले दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।


क्लिकमान्डु