छिमेकीलाई असर नपर्ने गरी एमसीसी अघि बढाउँछौंः माधव नेपाल



काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताए ।

समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् । उनले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताए ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने बताए । उनले नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए ।

‘एमसीसीको सबालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै त्रुटी कमजोरी छन् भने, सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती के के हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । अहिले एमसीसीसाँ जोडिएकाहरुले यो गठबन्धनको अंग होइन, भनेर हामीलाई प्रष्ट पार्ने कोशिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुराहरुसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरुमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । ५ दलको बीचमा छलफल गरेर साझा निस्कर्ष निकालेर देशको हीतको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अन्याय गरेको बताए । उनले पार्टीमा रहँदा प्रचण्ड धेरै सोझो बनेको पनि बताए । उनले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गरे ।

‘म कम्रेड प्रचण्डको पनि आलोचना गर्न चाहन्छु, उहाँ सोझो हुनपुग्नु भयो । कहिल्यै कुरा उठाउनु भएन उहाँले । अब मेरो पालो छ भन्नुपर्दथ्यो नि, पालो नै नभन्ने । सम्भवतः भर्खर पार्टी एकतावद्ध भएको छ । धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ । उहाँले केपी ओलीलाई चिन्दै चिन्नुभएन । केपी ओली जस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नु भएन । म त हत्तु हैरान भएर बसेको मान्छे । तर उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।’ उनले भने ।

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभई रामपन्थ भएको आरोपसमेत लगाए । उनले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताए । अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गरे । अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा आजको दिन कालो दिनको रुपमा पुगेको बताए ।


क्लिकमान्डु