आर्थिक वर्षको ५ महिना बित्दा पनि २३ स्थानीय तहले बजेट ल्याएनन्



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिना वितिसक्दा समेत २३ वटा स्थानीयतहले अझै बजेट ल्याएका छैनन् ।

संघीय मामिला तथा सामान्त्रय प्रशासन मन्त्रालयका अनुसार ७५३ वटा स्थानीय तहमध्ये ७३० वटा स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । बाँकी २३ वटा स्थानीयतहले भने हालसम्म पनि बजेट ल्याएका छैनन् ।

जसमा प्रदेश नं. २ का २१ वटा रहेका छन् भने बागमति प्रदेशका २ वटा स्थानीयतह हालसम्म बजेट पेस नगर्नेमा छन् । बजेट हालसम्म पेस नगर्ने बागमति प्रदेश अन्तर्गत पर्ने रामेछापको लिखुतामाकोशी गाउँपालिका र धादिङको गजुरी गाउँपालिका रहेका छन् । यो प्रदेश अन्तर्गत ११९ वटा स्थानीय तह रहेकामा ११७ स्थानीयतहले बजेट ल्याएका छन् ।

कानुनी व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गते बजेट ल्याएर असार मसान्तसम्म भित्र बजेट पास गर्नुपर्ने हुन्छ ।

प्रदेश नं. २ का १३६ स्थानीय तहमध्ये २१ स्थानीयतहले अझै बजेट पेस गरेका छैनन् । बाँकी ११५ वटा स्थानीयतहले भने बजेट पेस गरेका छन् ।

बजेट पेस नगर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिराहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका तथा धनुषाको जनकपुर उप–महानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् ।

त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिका पनि रहेका छन् ।

बाराका सिम्रौनगढ नगारपालिका, विश्रामपुर गाउँपालिका, पर्साका पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र धोबीनी गाउँपालिका रहेका छन् ।

बाँकी प्रदेश नं. १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीयतहहरुले भने बजेट पेस गरेका छन् ।


क्लिकमान्डु