श्रममन्त्री र नेपालका लागि इजरायली राजदुत गोदरसँग भेट, रोष्टरमा रहेका बाँकीलाई लैजान छलफल



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगनेपालका लागि इजरायलका राजदुत हनान गोदरले भेट गरेको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल गरेको छ ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालिन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गरे ।

केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीका पहल गर्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेका छन् । पुर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको मन्त्रीले बताए ।

‘पछिल्लो समय नेपालबाट इजरायलमा गइ काम गर्ने नेपाली कामदारको संख्या उल्लेखनीय रहेको छ । इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषिक्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशाा गर्दै आइरहेको छ,’ मन्त्रीले भने ।

नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणमा सहयोग पु¥याएको उनको भनाइ छ ।

राजदुत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताए ।
इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् ।


क्लिकमान्डु