दीपावलीमा बत्ती जान नदिन यस्तो छ प्राधिकरणको तयारी



काठमाडौं । बत्ती नै बत्तीको पर्वको हो दीपावली । यस वर्ष पनि सदा झैं हरेकले घर घरमा बत्ती बालेर दिपावली पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

यस पर्वलाई आधार मानेर नेपाल विद्युत् प्राधिकरणले आवश्यक तयारी गरेको जनाएको छ । प्राधिकरणले बिजुली पुगेका कुनै पनि स्थानमा अवरोध नओस् भनेर विशेष सावधानी अपनाइएको जनाएको छ ।

प्राधिकरणले कुनै स्थानमा समस्या आए तत्काल सम्बोधन गर्ने गरी द्रुत परिचालन टिम नै खडा गरेर तयारी हालतमा राखेको छ । सबै ग्रीड, विद्युत् उत्पादन केन्द्र तथा प्रसारण तथा वितरण केन्द्र प्रमुखलाई सकेसम्म कार्यालय नछाड्न कडा निर्देशन दिएको छ ।

कुनै पनि नागरिकले दिपावलीमा बिजुली बाल्न पाइएन भन्ने गुनासो नगरुन् भनेर आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

कुनै पनि उपभोक्ताले बत्ती नै बत्तीको पर्वमा बत्ती बाल्न पाइएन भन्ने गुनासो गर्न नपाओस् भनेर सबै व्यवस्था मिलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस वर्ष प्राधिकरणले प्रणालीमा १ हजार ६०० मेगावाटको हाराहारीमा कूल माग पु्ग्ने जनाएको छ । कम्तीमा १ हजार ५०० मेगावाट र बढीमा १ हजार ६०० मेगावाटसम्म मात्रै कूल माग पुग्ने अनुमान गरिएको छ ।

गत भदौको अन्तिम साता मात्रै प्रणालीमा १ हजार ६२० मेगावाटको हाराहारीमा बिजुलीको माग पुगेको थियो । यसपटक अपेक्षित रुपमा माग नबढ्ने प्राधिकरणको भनाइ छ ।

लगातार बिजुली प्रवाह भएका कारण माग अपेक्षित रुपमा नबढ्ने प्राधिकरणको भनाइ छ । हरेक वर्ष लक्ष्मीपूजाको दिनलाई नै प्राधिरकणले कूल मागको मानक बनाउने गरेको थियो ।

तर पछिल्ला दिनमा त्यो मानक अन्य दिन नै कायम हुने गरेको छ । मानक अरु दिन कायम भएपनि लक्ष्मीपूजाको दिनलाई विशेष मानिन्छ । झण्डै ५ वर्ष पहिले कुलमान घिसिङले लक्ष्मीपूजाको दिनदेखि नै काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरेका थिए । सोही कारण पनि उनलाई लक्षमीपूजाको दिन विशेष लाग्ने गरेको छ ।

प्राधिकरणले आफना सबै आयोजना, निजी क्षेत्रका सबै आयोजना र कुलेखानी जलाशयलाई पनि तयारी हालतमा राखेको छ । यसले माग सम्बोधनमा विशेष योगदान गर्ने विश्वास लिइएको छ । मंगलबार रातीदेखि प्राधिकरणले ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।

कुनै पनि स्थानमा बिजुली नजाओस् भनेर तयारी गरिएपनि भरतपुर सवस्टेशनमा समस्या आउँदा मर्मत गर्न लामो समय लाग्यो । कार्यकारी निर्देशक घिसिङ आफै सवस्टेशनमा पुगेर मर्मत सम्भारको नेतृत्व गरे र ३६ घण्टापछि बिजुली उपलब्ध गराए ।


क्लिकमान्डु