निक्षेपमा बागमति प्रदेशको हिस्सा ६८.१ प्रतिशत, कर्जामा ५६.६ प्रतिशत



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा बढी वित्तीय साधन परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा मात्रै अधिकेन्द्रित रहेको देखाएको छ ।

उक्त अध्ययन प्रतिवेदन अनुसार कर्णाली र सुदूरपश्मिच प्रदेशमा भने वित्तीय पहुँच तथा साधन परिचालन निकै न्यून रहेको देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा बैंक तथा वित्तीय संस्थाको शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवैन्यून रहेको देखिएको छ ।

अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।

पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

राष्ट्र बैंकका अनुसार अध्ययनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैर बैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।


क्लिकमान्डु