अब भाटभटेनी सुपरमार्केटमा प्रभु बैंकको क्यूआरबाट भुक्तानी गर्न पाइने



काठमाडौं । अब उपभोक्ताले भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्दा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

बिहीबार नक्सालस्थित भाटभटेनी सुपरमार्केटको प्रांगणमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसको उद्घाटन गरेका छन् । सुपरमार्केटमा प्रभु बैंकसँगको सहकार्यमा उक्त सुविधा उपलब्ध हुने भएको हो ।

क्यासलेस भुक्तानीको प्रणालीलाई अझ बलियो बनाउनका लागि क्यूआर कोड स्क्यान सहयोगी बन्ने गभर्नर अधिकारीले बताए ।

उनले अब उपभोक्ताले विना कुनै झण्झट क्यूआर कोड स्याक्यन गरी भुक्तानी गर्न सक्ने बताए ।

‘यसमा कुनै झण्झट छैन, समय कम लाग्नुका साथै कारोबार हुनासाथ बैंकमा रकम जम्मा हुने र ब्याज पनि सही समयमा पाइन्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट शुरु भइ अन्य आउटलेटमा पनि क्यूआर कोडको सुविधा उपलब्ध हुने बताए ।

‘आजदेखि नक्सालको भाटभटेनीमा क्यूआर कोडको सुविधा उपलब्ध हुनेछ, बिस्तारै अन्य आउटलेटमा पनि यो सेवा शुरु गर्नेछौं,’ उनले भने ।

उनका अनुसार सञ्चालनमा रहेका १९ वटा आउटलेटबाट हाल दैनिक औसतमा ४० हजार वटा कारोबार हुँदै आएको छ । उनले आगामी २ वर्षभित्रमा क्यूआरबाट भुक्तानी हुने रकमको संख्या ७५ प्रतिशत पुग्ने लक्ष्य लिइएको बताए ।

‘आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत भुक्तानी विद्युतीय माध्यमबाट हुँदै आएको थियो, अब २ वर्षभित्रमा क्यूआर कोडबाट मात्रै हुने भुक्तानी ७५ प्रतिशत पुर्याउने लक्ष्य लिएका छौ,’ उनले भने, ‘क्यूआर कोडबाट भुक्तानी गर्दा सुपरमार्केटका मेम्बरहरुले थप २५ प्रतिशत प्वाइन्ट प्राप्त गर्नेछन् ।’

उनले क्यूआर कोडको सुविधालाई अभियानका रुपमा सञ्चालन गर्ने पनि बताए ।


क्लिकमान्डु