ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपपछि सेयर बजारमा हरियाली, कारोबार रकम अझै बढेन



काठमाडौं । ब्याजदर निर्धारणमा राष्ट्र बैंकले कडाइ गरेको भोलिपल्ट अर्थात् बुधबार सेयर बजारमा हरियाली छाएको छ । वाणिज्य बैंकहरुले मनपरी ढंगले निक्षेपमा ब्याजदर निर्धारण गरेपछि ओरालो लागेको सेयर बजार बुधबार भने ६० अंकले उकालो लागेको छ ।

यो दिनको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । तर कारोबार संख्या र रकममा भने आशातित प्रगति देखिएको छैन । यो दिन जम्मा ६१ लाख १ हजार ४१४ कित्ता सेयर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ५ प्रतिशतले बढेको छ भने ट्रेडिङ, होटल एण्ड टुरिजम, विकास बैंक र हाइड्रोपावरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

यो दिनको कारोबारमा युनिभर्सल पावर कम्पनी, आँखु खोला जलविद्युत् कम्पनी र माइलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । साथै, सीइडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावरलगायतका कम्पनीको सेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।


क्लिकमान्डु