अन्तर्राष्ट्रियतर्फ सेप्टेम्बरमा डेढ लाखले गरे हवाई यात्रा, कतार एयरलाइन्स सबैभन्दा अघि



काठमाडौं । सेप्टेम्बर महिनामा अन्तर्राष्ट्रिय उडानतर्फ करिब डेढ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार २१ वटा सेड्युल विमान र चार्टर्ड विमानबाट ५१७ जना गरी यस अवधिमा कुल १ लाख ४२ हजार ८९५ जना यात्रुले हवाई यात्रा गरेका छन् ।

जसमध्ये ६५ हजार १०९ जना नेपाल भित्रिएका छन् भने ७७ हजार ७८५ जना नेपाल छाडेर अन्य देश पुगेका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको एयरलाइन्स तथा मुलुकमा जारी निषेधाज्ञाका कारण विगतको तुलनामा कम संख्या यात्रुले यात्रा गरेका हुन् ।

सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लागू गरेको निषेधाज्ञाका कारण पछिल्लो समय नेपालमा विदेशी पर्यटक समेत आउन सकेका छैनन् । तर पछिल्लो समयमा सरकारले अनअराइभल भिसा जारी गर्ने नीति लिएसँगै अब बिस्तारै विदेशी पर्यटक आउने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर महिनामा सबैभन्दा बढी कतार एयरलाइन्सले यात्रु ओसारपसार गरेको छ । कतार एयरलाइन्सले एक महिनामा यात्रा गर्ने कुल यात्रुमध्ये २३.८ प्रतिशत अर्थात् ३४ हजार ४३ जना यात्रुलाई सेवा दिएको छ भने दोस्रो नम्बरमा रहेको हिमालयन एयरलाइन्सले १८.८ प्रतिशत अर्थात् २६ हजार ८१० जना यात्रुलाई सेवा दिएको छ ।

तेस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले १८ प्रतिशत अर्थात् २५ हजार ७८८ जना र एयर अरेबियाले ८.९ प्रतिशत अर्थात् १२ हजार ६९३ जना यात्रु ओसारपसार गरेको छ ।


क्लिकमान्डु