दक्षिण कोरिया जाने श्रमिकले ५ हजार डलरको बीमा गर्नुपर्ने



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जाने श्रमिकले ५ हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कोरिया जाने श्रमिकले अनिवार्य बीमा गर्नुपर्ने जनाएको हो ।

नेपालबाट कोरिया जाने नेपाली श्रमिकहरू कोभिड–१९ महामारीको कारणले लामो समयदेखि कोरिया जान पाएका छैनन् । पछिल्लो समय कोभिडको अवस्था सामान्य हुँदै गएको सन्दर्भमा कोभिड प्रोटोकलको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षबाट प्रतिबद्ध कामदार लैजाने प्रक्रिया अगाडि बढेको शाखाको भनाइ छ ।

‘अहिलेको कोभिड महामारीको अवस्थामा कामदारहरूको पालना गर्नुपर्ने शर्तमध्ये ५ हजार अमेरिकन डलर बराबरको अनिवार्य कोभिड जोखिम बीमा गर्नुपर्ने शर्त रहेको छ,’ जारी सूचनामा उल्लेख छ ।

शाखाले एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीमा सम्पर्क गर्न शाखाले अनुरोध गरेको छ ।

शाखाकाअनुसार बीमा कम्पनीले विभिन्न जोखिमहरूको कभर गरेको छ । उक्त ५ हजार डलरभित्र १४ दिनको अवधिभित्र कोभिड संक्रमण भई बीमित अस्पताल भर्ना भएमा अस्पताल खर्च, आइशोलेशन बस्नुपर्ने खर्च र आइशोलेशन बस्दा आवश्यक औषधि खर्च कभर गर्नेछन् ।

रोजगारीमा जाने श्रमिकहरूले बीमा गर्नका लागि एनएलजी इन्स्योरेन्स कम्पनीले २७ अमेरिकन डलर तोकेको छ । त्यसैगरी अजोड इन्स्योरेन्सले ४० वर्षभन्दा मुनिका लागि २६ अमेरिकन डलर तोकेको छ भने ४० देखि ६० वर्षसम्मका लागि २७.२ अमेरिकन डलर रुपैयाँ भुक्तानी गरी बीमा गर्न सक्नेछन् । त्यस्तै प्रभु इन्स्योरेन्सले भने ४० अमेरिकन डलर तोकेको छ ।


क्लिकमान्डु