डिशहोमले प्रभु टिभीको व्यवस्थापन सम्हाल्यो, मंसिरभित्रै एक्वायर गर्ने



काठमाडौं । डिशहोमले प्रभु टिभी एक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कम्पनीले हाल व्यवस्थापन आफूले सम्हालिसकेको र एक्वायरको प्रक्रिया छिट्टै टुंगोमा पुर्याउने बताएको छ ।

६० हजार ग्राहक भएको प्रभु टिभीलाई एक्वायर गर्ने डिशहोमले व्यवस्थापन सबै आफूले हेर्न थालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

‘अहिले सबै व्यवस्थापनमा डिशहोमको नियन्त्रण छ, अब एक्वायर गर्ने प्रक्रिया मंसिर महिनाभित्रैमा एक्वायर गर्ने काम सकाउने छौं,’ उनले भने ।

एउटै बिजनेशमा २ वटा फरक कम्पनीमा हुँदा खर्च पनि बढ्ने साथै लगानीकर्ता समेत एउटै भएको हुँदा डिशहोमले प्रभु टिभी एक्वायर गर्न लागेको हो । डिशहोमको २ अर्ब र प्रभु टिभीको ४० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

डिशहोममा चिनियाँ लगानीकर्तासहित आइएमई ग्रुप, सुदीप आचार्य र प्रभु ग्रुपको लगानी छ भने प्रभु टिभीमा प्रभु ग्रुपको लगानी छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम मर्जरबाट नै अगाडि बढेको हो । ताररहित टेलिभिजन सेवा प्रदायक कम्पनी एकैपटक डिश टिभी र होम टिभी संचालनमा आएका थिए । एउटै उद्देश्यका लागि २ वटा कम्पनी हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने भएपछि डिश र होम टिभी मर्ज भएर डिशहोम बनेको हो ।

डिशहोमको अध्यक्ष केही वर्ष अगाडिसम्म प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन थिए । उनले डिशहोममा रहेको केही प्रतिशत सेयर बेचेर प्रभु टिभी संचालनमा ल्याएका थिए ।

डिशहोमले धितोपत्र बोर्डमा आइपीओ निष्कासनको प्रक्रिया समेत अगाडि बढाएको छ । डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमति दिएको थियो ।

प्रभु टिभी २०७५ असार ३ गतेदेखि सञ्चालनमा आएको थियो । ओटीटी प्रणालीमा आधारित भएकाले हाल प्रभु टिभी मोबाइल, ट्याबलेट तथा ल्यापमटमा पनि हेर्न सकिन्छ ।

कम्पनीले पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनमा सेवा शुरु गरेको थियो भने त्यसपछि प्रदेश नम्बर १ को धरान, इटहरि, बिराटनगरलगायतका सहरमा बिस्तार गरेको थियो ।


क्लिकमान्डु