सिटिजन्स बैंकको कर्सिया शाखाबाट २२ लाख लुटियो



काठमाडौं । सिटिजन्स बैंकको मोरङको कर्सिया शाखाबाट सोमबार दिउँसो २२ लाख रुपैयाँ लुटपाट भएको बैंकले जानकारी दिएको छ ।

६ जना नकावधारी समूहले सोमबार दिउँसो साढे ३ बजेतिर बैंकमा छिरेर लुटपाट गरेको थियो । जसमा लुटेराहरुले गोली चलाउँदा सुरक्षा गार्ड घाइते भएका थिए ।

बैंकको सीइओ गणेशराज पोख्रेलका अनुसार लुटेराहरुले कटुवा पेस्तोलबाट सुरक्षा गार्डलाई गोली हानेर बैंक भित्र प्रवेश गरेका थिए ।
‘सीसीटीभी फुटेजअनुसार नकावधारी ६ जना लुटेराको समूहले कर्मचारीलाई पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएर लुटेको जानकारी प्राप्त भएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

लुटेराले चलाएको गोलीबाट सुरक्षा गार्ड सितल कुँवर घाइते भएका छन् । उनको घाँटीको पछाडिको भागमा गोली लागेको छ । हाल उनको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक नरहेको सीइओ पोख्रेलले जानकारी दिए ।

बैंक लुटेर लुटेराहरु को २५ प ३८९९ नम्बरको मोटरसाइकल चढेर भागेका थिए । लुटिएको स्थान भारतको सीमानाभन्दा ५ किलोमिटर टाढा हो ।

प्रहरीले लुटपाटमा संलग्न भएको शंकाका आधारमा ३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरु भारतीय नागरिक भएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।


क्लिकमान्डु