सिटिजन्स बैंकको मोरङको कर्सिया शाखामा लुटपाट



लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको व्यक्ति


लुटेराहरुको समूहले मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा सोमबार दिउँसो लुटपाट गरेका छन् । दिउँसो साढे ३ बजे २ वटा मोटरसाइकलमा आएका ६ जना बन्दुकधारी लुटेराको समूहले लुटपाट गरेको हो ।

बैंकको सीइओ गणेशराज पोख्रेलका अनुसार लुटेराहरुले कटुवा पेस्तोलबाट सुरक्षा गार्डलाई गोली हानेर बैंक भित्र प्रवेश गरेका थिए ।
‘सीसीटीभी फुटेजअनुसार नकावधारी ६ जना लुटेराको समूहले कर्मचारीलाई पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएर लुटेको जानकारी प्राप्त भएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

लुटेराले चलाएको गोलीबाट सुरक्षा गार्ड सितल कुँवर घाइते भएका छन् । उनको घाँटीको पछाडिको भागमा गोली लागेको छ । हाल उनको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक नरहेको सीइओ पोख्रेलले जानकारी दिए ।

लुटेराले के कति रकम लुटेको भन्नेबारेमा अझै जानकारी नभएको उनले बताए । तर सीइओ पोख्रेलले करिब २० लाख रुपैयाँ बराबरको लुटपाट भएको हुन सक्ने बताए ।

‘घटनास्थलबाट प्रहरीले मुचुल्का उठाइसकेको छ, अहिले सबै कर्मचारीहरु बैंकमै बसेर पैसा गनिरहेका छन्,’ सीइओ पोख्रेलले भने, ‘केही बेरमा यकिन विवरण आउनेछ ।’

बैंक लुटेर लुटेराहरु को २५ प ३८९९ नम्बरको मोटरसाइकल चढेर भागेका थिए । लुटिएको स्थान भारतको सीमानाभन्दा ५ किलोमिटर टाढा हो ।

प्रहरीले लुटपाटमा संलग्न भएको शंकाका आधारमा ३ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरु भारतीय नागरिक भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


क्लिकमान्डु