शाखा विस्तारमा नबिल बैंक आक्रामकः ४ वर्षमा दोब्बर, यो वर्ष २३ शाखा खोल्ने



काठमाडौं । आर्थिक वर्ष २०७३/७४ सम्ममा नबिल बैंकका शाखा संख्या जम्मा ५२ वटा थिए । काठमाडौं उपत्यका तथा उपत्यका बाहिर प्रमुख सहरी इलाकामा मात्र नबिल बैंकको शाखा सन्जाल थियो ।

आर्थिक वर्ष २०७२/७३ सालको मौद्रिक नीतिले वाणिज्य बैंकको चुक्ता पूँजी २ अर्बबाट एकैपटक ८ अर्ब पुर्याउने नीति लिएको थियो । राष्ट्र बैंकले लिएको चुक्ता पूँजी पुर्याउनको लागि नबिललाई कुनै समस्या थिएन । अरु बैंकहरुले मर्जर एक्विजेशन, हकप्रद तथा एफपिओबाट राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याए ।

तर, नबिल बैंकले बोनस सेयर दिएरै राष्ट्र बैंकले भने अनुसारको चुक्ता पूँजी पुर्याएको थियो । राष्ट्र बैंकको चुक्ता पूँजी बढाउने नीतिले अरु बैंकहरुले क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनी गाभेका थिए । जसले अरु बैंकको नेटवर्क काठमाडौं उपत्यकाबाट बजार हुन थालेका क्षेत्रमा पुगेको थियो । आफ्नो स्रोत बोनसबाट चुक्ता पूँजी बढाएको हुँदा अरु बैंकलाई जस्तो मर्जर तथा एक्विजेशनबाट आउने शाखाको सुविधा नबिल बैंकलाई थिएन ।

आर्थिक वर्ष २०७३/७४ सम्म ५२ वटा शाखा रहेको नबिल बैंकले अर्को वर्ष आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा ६७ वटा शाखा पुर्यायो । आर्थिक वर्ष २०७५/७६ मा नबिल बैंकले शाखा संख्या ७६ पुर्याउन सफल भयो । २०७६/७७ मा बैंकले ३९ वटा शाखा थप विस्तार गर्न सफल भयो ।

२०७७ सालको असार मसान्तसम्मा आउदा नबिल बैंकको शाखा ११८ पुगेको थियो । नबिल बैंकले गत आर्थिक वर्षमा पहिलो पटक कुनै संस्थालाई एक्विजेशन गर्यो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन गर्यो । २०७८ असार मसान्तसम्म बैंकको शाखा संख्या १३५ पुगेको छ । युनाइटेडलाई गाभ्दा नबिललाई शाखामा थप मद्दत भयो ।

चालु आर्थिक वर्षमा २३ वटा नयाँ नै शाखा खोल्ने तयारी भएको नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली बताउँछन् ।

‘यो वर्ष २३ वटा शाखा खुल्ने छ, काठमाडौं उपत्यका बाहिर १२ वटा तथा काठमाडौंभित्र ११ वटा शाखा खुल्ने छ,’ ज्ञवालीले क्लिकमाण्डूसँग भने ।

नबिलले काठमाडौं उपत्यकाभित्र पछिल्लो समय बस्ती विस्तार भएको काँठ क्षेत्रमा फोकस गरेर शाखा खोल्न लागेको छ । नबिल बैंकले २३ वटा नयाँ शाखा खोल्ने छ भने युनाइटेड फाइनान्सलाई एक्विजेशन हुँदा दोहरिएका १६ वटा शाखा स्थानान्तरण गर्ने छ ।

शाखा विस्तारले बढायोको व्यापार

२०७३ साल असार मसान्तसम्म नबिल बैंकको शाखा संख्या ५२ थियो । त्यो बेला बैंकको निक्षेप १ खर्ब १० अर्ब थियो । एक वर्षमा बैंकले नयाँ शाखा भने खोलेन । २०७४ असार मसान्तमा ५२ शाखा रहेको बेला बैंकको निक्षेप १ खर्ब १८ अर्ब पुग्यो । २०७४ सालमा शाखा खोल्ने नीतिले बैंकको निक्षेप बढाएको देखिन्छ ।

२०७५ मसान्तमा आउदा बैंकको निक्षेप १ खर्ब ३५ अर्ब पुग्यो । २०७६ सालको असार मसान्तमा १ खर्ब ६४ अर्ब तथा २०७७ सालको असार मसान्तमा आइपुग्दा १ खर्ब ९३ अर्ब निक्षेप नबिल बैंकको पुगेको छ ।

२०७८ साल असार मसान्तमा नबिल बैंकको निक्षेप २ खर्ब २८ अर्ब पुगेको छ । यसरी हेर्दा ५ वर्षमा शाखा दोब्बर गर्दा बैंकले व्यवसाय पनि दोब्बरले बढाउन सफल भएको देखिन्छ ।


क्लिकमान्डु