रेलको चल्न नपाउँदै वारेन्टी सकियो, कहिले चल्छ अझै टुंगो छैन



काठमाडौं । भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याइ नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

रेल कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा खरिद गरिएको थियो । दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जाकारी दिए ।

सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेशनमा त्रिपालले छोपेर राखिएको थियो हालसम्म पनि त्यस्तै अवस्थामा रहेको छ । राजनीतिक उतारचढाव कत्ति भए तर रेल भने चल्न सकेन । रेलको ट्रयाकपनि सबै तयारी अवस्थामा रहेको रेल विभागले पटक–पटक भन्दै आएको छ । तर कानुनी प्रक्रिया र ट्रयाकको साइट सर्वेक्षण बिना रेल सञ्चालन हुन नसकेको सरकारी अधिकारीहरुको भनाइ छ ।

रेल खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी २०७८ असोज ३ गते सकिएकोे हो । रेलको वारेन्टी हरेक एक वर्षमा सकिन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नुपर्ने, मोबिल फेर्नुपर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्ने निर्माण कम्पनीको भनाइ छ । यसको पनि मोटरबाइक र गाडीहरु जस्तै समय समयमा सर्भिस गरिराख्नु पर्ने झाले बताए ।

‘जुन मेसिनरी समान पनि नचलाई राखेमा त्यसको आयु छोटो हुदै जान्छ,’ झाले भने । वारेन्टी अवधिमा इन्जिन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आएमा निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने पनि झाले बताए ।

कानूनी प्रक्रियाको अभाव
‘कानून अभावमा रेल सञ्चालन हुन सकेको छैन । कानून आएपछि प्राविधिक टोलीलाई बोलाई रेल सञ्चालनमा ल्याइने विभागले बताउँदै आएको थियो । तर, कानून भने रेलको वारेन्टी सकिदा पनि बन्न सकेको छैन् ।

संसद्मा कानूनको मस्यौदा पेस गरिएको भए पनि तत्कालका लागि बाटो खुला गर्न अध्यादेश ल्याउने गरी तयारी थालिएको प्रवक्ता अमन चित्रकारले बताए ।

‘गत पुसमा सरकारले रेलसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो,’ चित्रकारले भने ।

कानून राष्ट्रिय सभाबाट छलफल भएर लगभग टुङ्गिएको अवस्था छ । त्यो कानून आउन समय लाग्ने भयो भने सुरक्षा र सम्पत्तिसँग सम्बन्धित विषय समेटेर अध्यादेशमार्फत् रेल सञ्चालन गर्ने तयारी भएको पनि चित्रकारले बताए ।

यस बोर्डले बनाएको विनियमावली, निर्देशिका र कार्यविध मन्त्रालयबाट स्वीकृित भएपछि लागू हुनेछ र त्यस्तो विनियमावली, निर्देशिका, कार्यविधि र मापदण्ड सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ । सरकारको परिवर्तन हुने सिलसिलाले पनि यस क्षेत्रमा असर पारेको छ ।

यता जनशक्तिको भने अभाव नरहेको विभाग बताउँदै आएको छ । दक्ष जनशक्ति हालका लागि भारत बाट नै ल्याइने चित्रकारले बताए ।
अनुगमन हुँदै

रेलको अनुगमन अहिले भइरहेको छ । बाहिरबाट हेर्दा ठिकै देखिन्छ । तर, खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको र खियासमेत लाग्न थालेको स्थानीय बताउँछन् ।

रेलको सुरक्षामा प्रहरी परिचालन गरिएको भए पनि रेलको ट्रयाकबाट ठूलो संख्यामा क्लीप चोरी भएको विवरणहरू सार्वजनिक भएका छन् ।
यसै सिलसिलामा रेल्वे कम्पनीका पक्षबाट जनकपुर अनुगमनका लागि टोली यसै हप्ता त्यहाँ पुगेको पनि चित्रकारले जानकारी दिएका छन् । टोली फर्केपछि मात्र रेल कहिले सञ्चालन गर्न सकिन्छ भन्ने कुराको टुङ्गो लाग्ने पनि चित्रकारले बताए ।


क्लिकमान्डु