दशैंका लागि सरकारी कम्पनीले काठमाडौं भित्र्यायो ५३२ खसीबोका, भोलिबाट बिक्री गर्ने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३२ वटा खसीबोका काठमाडौं भित्र्याएको छ ।

कम्पनीले दाङ र हेटौंडाबाट आज राति काठमाडौं ल्याइपुर्याएको कम्पनीका नायव प्रबन्ध निर्देशक श्रीमणि खनालले जानकारी दिए ।

कम्पनीले यो वर्षको दशैंमा ३ हजार खसीबोका ल्याउने तयारी गरेको छ । पहिलो चरणमा २ हजार खसीबोका ल्याउने र पछि माग बढेमा कम्पनीले थप गर्ने जनाएको छ । सोही अनुसार पहिलो चरणमा दाङबाट २०१ र हेटौंडाबाट ३३१ वटा खसीबोका काठमाडौं आइपुगेको बताए ।

कम्पनीले हालसम्म खसीबोका बिक्री मूल्य तोकेको छैन । कम्पनीले आज बैठक बसेर काठमाडौं भित्र्याएको जिउँदो खसीबोकाको मूल्य तय गर्ने उनले बताए । आज मूल्य तय भएपश्चात कम्पनीले भोलि अर्थात् शनिबारबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले बजारमूल्यको तुलनामा १० रुपैयाँ प्रतिकेजी मूल्यमा बिक्री गर्नेछ । कम्पनीले हरेकवर्ष बजार मूल्य नियन्त्रणका लागि हरेक वर्ष बजेट विनियोजन गरेर दशैंमा खसीबोका बिक्री गर्दै आएको छ ।

साथै, च्याङ्ग्रा पनि विभिन्न स्थानबाट ल्याएर बिक्री गर्दै आएको थियो । तर, यो वर्ष कृषकबाट खरिद गर्दा नै च्याङ्ग्राको मूल्य महंगिएपछि कम्पनीले नल्याउने भएको छ ।


क्लिकमान्डु