सरकारी कम्पनीले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी शुक्रबार देखि (असोज २२) खसीबोकाको बिक्री शुरु गर्ने भएको छ ।

कम्पनीले यस वर्षका दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्यधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि अर्थात् असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्री वितरण शुरु गर्ने जानकारी दिइन् ।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौँडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले बताइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बिक्री गर्ने मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ कम मूल्यमा खसीबोका बिक्री गर्ने न्यौपानेको भनाइ छ ।

दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री बितरण गरिरहेको छ ।


क्लिकमान्डु