ऋणीको किर्ते सही गरेर बैंककै कर्जा प्रमुखले पैसा झिकेपछि…




काठमाडौं । तत्कालिन कास्की फाइनान्सको स्थलगत निरीक्षणका लागि २०७२ जेठमा नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको टोली पोखरा पुग्यो ।

निरिक्षणका क्रममा बैंकको कर्पोरेट शाखा कर्जा इन्चार्ज विश्वराज अधिकारीले बैंकका एक ग्राहकको खाता प्रयोग गरेर आफूखुसी पैसा चलाउने गरेको तथ्य फेला पर्यो ।

कर्जा इन्चार्ज अधिकारीको हस्ताक्षरमा बैंकले प्रशान्त श्रेष्ठलाई २५ लाख रुपैयाँ बराबरको ओभर ड्राफ्ट ऋण स्वीकृति गरेको थियो । त्यो पैसा श्रेष्ठले भन्दा पनि अधिकारीले नै प्रयोग गरिरहेका थिए ।

अर्थात ऋणी श्रेष्ठको खाताबाट बैंकका कर्जा प्रमुख अधिकारीले हस्ताक्षर गरेर पैसा निकाल्ने गरेको तथ्य राष्ट्र बैंकको निरिक्षणमा फेला परेको थियो ।

राष्ट्र बैंकको २०६९ को एकीकृत निर्देशिका अनुसार बैंकका कर्मचारी तथा उच्च व्यवस्थापनले ग्राहकसँग व्यक्तिगत कारोबार गर्न नहुने व्यवस्था छ । ग्राहकको खाताबाट बैंकका कर्मचारीले आफूले सही गरेर निकाल्न त झन पाइँदै पाइन्न ।

तर, कामना विकास बैंकका कर्जा इन्चार्ज अधिकारीले ऋणी प्रशान्त श्रेष्ठलाई आफैंले सही गरेर २५ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत गरे । अनि ऋणीको खाताबाट आफैंले हस्ताक्षर गरेर पटक पटक पैसा निकाले ।

आफैंले पैसा चलाउनका लागि अधिकारीले श्रेष्ठलाई ऋणी बनाएर ऋण स्वीकृत गरेको राष्ट्र बैंकको निरिक्षणले देखाएको छ ।

कर्जा प्रमुखको यस्तो हर्कत देखेपछि राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) तोया अधिकारीलाई ती कर्मचारीलाई कारबाही गर्न निर्देशन दियो । सीइओ अधिकारीले कारवाही गर्छु भन्दै राष्ट्र बैंकलाई आश्वस्त पारे पनि ।

तर, त्यसको दुई महिना नवित्दै कास्की फाइनान्स कामना विकास बैंकसँग मर्ज भई कामना विकास बैंककै नाममा एकीकृत कारोबार थाल्यो । तोया अधिकारी नै कामना विकास बैंकको सीइओ भए । र, विश्वराज अधिकारी नै कामनाको कर्जा विभागको प्रमुख भए ।

२०७२ को भदौमा राष्ट्र बैंकको टोली कामना विकास बैंकको स्थलगत निरिक्षणका लागि फेरि पोखरा पुग्यो । निरिक्षणका क्रममा फेरि प्रशान्त श्रेष्ठसँगको विश्वराज अधिकारीको कारोबार भएको भेटियो ।

त्यसपछि राष्ट्र बैंकले बैंकका सीइओ तोया अधिकारीलाई किन कारबाही नगरेको भन्दै स्प्रष्टिकरण सोध्यो । साथै सञ्चालक समितिलाई पनि सचेत गरायो । सीइओ र सञ्चालक समितिले राष्ट्र बैंकलाई प्रष्टिकरण बुझाए ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा उनीहरुको प्रष्टिकरणबारे छलफल पनि भयो ।
त्यस्तो बदमासी गर्ने कर्मचारीलाई किन कारबाही नगरेको भन्दै राष्ट्र बैंकले फेरि कामना विकास बैंकको सञ्चालक समिति र व्यवस्थापनलाई पत्र पठाएको छ ।

त्यसैगरी, कर्जा प्रमुख विश्वराज अधिकारीलाई पनि तपाईंलाई किन कारबाही नगर्ने भन्दै १५ दिनभित्र प्रष्टिकरण दिन राष्ट्र बैंकले पत्र बठाएको छ । राष्ट्र बैंकको नयाँ पत्रले बैंकमा हंगामा मच्चाएको छ ।

मर्जरपछि बैंकमा कर्मचारीहरुको दुई गुट भएको र त्यसले बैंक सञ्चालनमा समस्या पर्ने देखिएको छ । मर्जपहिले एक संस्थामा रहेका कर्मचारीले गरेको गल्ती अर्को संस्थाका कर्मचारीले देखाउने प्रवृत्ति बढेकाले मर्जरपछि समस्या देखिएको बैंक सम्वद्ध अधिकारीहरु बताउँछन् ।


क्लिकमान्डु