कर नतिर्ने ४० करदाताको नाम सार्वजनिक गर्दै काठमाडौं महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ ।

गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश मात्र गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन् ।

सम्पर्कमा आएकामध्ये चारवटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा १ करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वर्ड टे«ड सेन्टर)ले रु एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन दिएका छन् ।

वडा १४ को नेशनल हस्पिटलले २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।

वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा नं १३ को काठमाडौँ इञ्जीनियरिङ कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ । कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले राससलाई जानकारी दिनुभयो ।

४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै

कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ ।

‘अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्,’ प्रमुख डा अघिकारीले भने ।

समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ । तर, कामपाले विगतको दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ । यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो ।

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रुपमा नै कर सङ्कलन गरिरहेको छ ।

सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ ।

नआउनेहरुलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । डा अधिकारीले भने ‘सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।’

सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन् । घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौँ प्लाजा, नेपाल शेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन् ।

कामपाले यस वर्ष १० अर्ब २३ करोड असुल गर्ने लक्ष्य लिएको छ । गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइन मा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ ।


पुष्प दुलाल