स्मार्ट टेलिकमलाई बक्यौता तिर्न पुससम्मको भाका



काठमाडौं । स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप भएको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्नु थप ६ महिनाको भाका दिइएको हो । स्मार्ट टेलिकमले हालको विषय परिस्थितिमा बक्यौता रकम तिर्न नसक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको थियो ।

मन्त्रिपरिषद्ले बक्यौता तिर्नका लागि स्मार्ट टेलिकमलाई पुस मसान्तसम्मको समय उपलब्ध गराएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । पुस मसान्तसम्म यो शुल्क अझै बढ्नेछ ।

स्मार्ट टेलिकमले वैदेशिक लगानी भित्र्याउन खोजिरहेको छ । वैदेशिक लागनी मार्फत व्यापार तथा सेवा विस्तार गर्न खोजेकाले सरकारले स्मार्टलाई थप समय उपलब्ध गराएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो पटक २०७७ गत चैत १ गतेको मन्त्रिपरिषद्ले स्मार्ट टेलिकमलाई बाँकी बक्यौता रकम भुक्तानी गर्न ४ महिनाको समय दिएको थियो ।

स्मार्ट टेलिकमले २०७६ सालदेखि सरकारलाई बक्यौता तिरेको छैन ।

स्मार्ट सेलले २०७६ भदौ मसान्तसम्म २ अर्ब ३२ करोड बढी रकम सरकारलाई बुझाउनुपर्ने थियो । यस्तै प्राधिकरणले बक्यौता रकम भुक्तानी नगरेको भन्दै २०७६ को कात्तिकमा कम्पनीको लाइसेन्स नै खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको उक्त निर्णय उल्टाएको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार स्मार्ट टेलिकमले पहिलो किस्ता बापतको रकम २०७६ पुससम्म ५ किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । हरेक आर्थिक वर्षभित्र बक्यौता बुझाउनुपर्ने भए नि उक्त कम्पनीले तोकिएको समयमा रकम भुक्तानी गरेको छैन् ।

२०७७ भदौ २९ गतेको मन्त्रिपरिषद्ले स्मार्ट टेलिकमलाई फागुन मसान्तसम्म अन्तिम पटकको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दुरसञ्चार प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरे सरकारको अधिनमा रहने बताएको थियो । हालसम्म स्मार्टले बक्यौताको रकम नबुझाएको प्राधिकरणले जानकारी दिएको छ ।


क्लिकमान्डु