कोपा अमेरिकाको बजेट २ अर्ब ३२ करोड, विजेताले ७७ करोड पाउँदा कुन टीमलाई कति ?
काठमाडौं । युरोपमा युरो कप चलिरहेका बेलामा दक्षिण अमेरिकामा कोपा अमेरिका प्रतियोगिता चलिरहेको छ ।
कोपा अमेरिका दक्षिण अमेरिकी मुलुकहरुको प्रतिस्ठित फुटबल प्रतियोगिता हो ।
फुलबलका दुई महाशक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिना सहभागी रहने गर्छ । मेसी, नेयमार, लुईस स्वारेज लगायत विश्व फुटबलका चर्चित खेलाडीको सहभागी रहने भएकाले पनि कोपा अमेरिकाको प्रशंसक विश्वभर नै छन् ।
आइतबारदेखि कोपा अमेरिकाको क्वाटरफाइनलको खेल सकिसकेको छ । मंगलबार कोपा अमेरिकाको सेमिफाइनलको खेल हुँदैछ । मंगलबार नेपाली समय अनुसार विहान ४ः४५ मा ब्राजिल र पेरु तथा बुधबार विहान ६ः४५ मा अर्जेन्टिना र कोलोम्बियाको खेल हुँदैछ ।
यस प्रतियोगितलाई फुटबल महाशक्तिको प्रतिष्ठा पनि जोडिएको हुन्छ । प्रतिष्ठाको सँगसँगै यो प्रतियोगिता आर्थिकरुपले पनि निकै महत्वपूर्ण छ ।
कोपा अमेरिकाको कुल पुरस्कार राशी १९.५ मिलियन अमेरिकी डलर अर्थात २ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यो रकम प्रतियोगिताको नकआउट राउण्डमा पुग्ने टीमको प्रदर्शनका आधारमा बाँडफाँट हुन्छ । समूह चरणबाट बाहिरिने टीमले भने पुरस्कार राशी पाउँदैनन् ।
कोपा अमेरिकाको विजेताले ६.५ अमेरिकी डलर पाउँछ । उप विजेताले ३.५ मिलियन अमेरिकी डलर पाउँछ । तेस्रो हुने टीमले ३ मिलियन अमेरिकी डलर पाउँछ र चौथौ टीमले २.५ मिलियन अमेरिकी डलर पाउँछ । क्वाटरफाइनल पुग्ने टीमले १.५ मिलियन अमेरिकी डलर पाउँछन् भने प्रतियोगितमा सहभागी हुने टिमलाई तयारी र खर्चबाट २ मिलियन अमेरिकी डलर दिइन्छ ।