बाढी पहिरो पिडितको उद्धारमा सेना



काठमाडौं । बाढी-पहिरो पिडितहरुको खोज, उद्धार तथा रातह वितरणका कार्यमा नेपाली सेना परिचालन भएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बाढी र पहिरोले प्रभावित जिल्लाहरुमा सेनाको टोली खोज, उद्धार र राहत वितरण कार्यमा जुटिरहेको जानकारी दिएको हो ।

चितवनको रत्ननगर नगरपालिका ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाईलोडाँडा तथा सोही जिल्लाको कालीका नगरपालिका स्थित सगुनचोक, लाहुरेचो, जटपानी र काली बस्तीमा स्थानीय खोलामा आएको बाढीको कारण डुवान भएकाले सेनाको उद्धार टोलीद्वारा सहयोग गरेको छ । साथै, कालीका बस्तीमा पहिरोमा परि ५ जना हराईरहेका व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा सेनाको टोली परिचालित भएका छन् ।

यस्तै सिन्धुपाल्चोको मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची खोलाले कटान गरेको स्थानमा सुरक्षा गुल्म मेलम्चीबाट खटिएको सेनाको उद्धार टोलीले ग्याबिन जालिमा ढुंगा भर्ने कार्यमा सहयोग गरेको छ । मेलम्ची नगरपालिका ११ स्थित बजार ईलाकामा मेलम्ची खोलाले कटान गरेको स्थानमा उक्त सुरक्षा गुल्मबाट खटिएको सेनाको उद्धार टोलीले १० वटा ग्याबिन जालिमा ढुंगा भर्ने कार्य गरेको छ ।

साथै चितवनको राप्ती नगरपालिका १२ स्थित पर्खालेको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्ने कार्यको लागि सेनाको उद्धार टोली परिचालित भएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका ३ स्थित कमला नदीले बगाएर ल्याएको दाउरा खोज्न जाँदा बाढीको कारण भंगालोमा फसेको स्थानिय ३ जना महिलाहरुलाई सेनाले उद्धार गरेको छ । साथै, धनुषाको रमौली गाउँपालिका २ निवासी ६० वर्षका बाबु गिरी (बाबा) कमला नदीको बिच बगरको नर्सरीमा कुटी बनाई बसेको थिए । उक्त नदीमा आएको बाढिबाट हुने सम्भावित खतरालाई मध्यनजर गरी निज बाबालाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाईएको छ ।

रौतहतको राजदेवी नगरपालिका ८ स्थित ब्रम्हपुरीमा बागमती नदीको बहाव बढ्न गई बस्तीमा बाढी पस्न सक्ने सम्भावना भएकाले सेनाले कटान गरेको स्थानमा तटबन्ध निर्माणको लागि सहयोग गरेको छ ।

गोरखाको खारखोला र दरौंदी दोभान तथा तनहुँको भानु नगरपालिका स्थित चुदीखोला र छाप्दीखोलामा आएको बाढीका कारण स्थानीय बासिन्दाहरुको घर जोखिममा परकोले सेनाको उद्धार टोली परिचालित भएका छन् ।

मकवानपुरको बकैयाँ गाउँपालिका ५ पावस र काठमाडौंको नागार्जुन नगरपालिका ३ ईचंगुमा पहिरोका कारण जोखिममा परेको स्थानीयबासीको घरलाई सुरक्षित बनाउन सेनाको उद्धार टोलीले पहिरो हटाउने कार्य गरेको छ ।


क्लिकमान्डु