५२ प्रतिशतले बढ्यो फोरजी ग्राहक, नेपाल टेलिकमको डेढ सय प्रतिशत वृद्धि



काठमाडौं । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या ६६ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३१६ पुगेको हो ।

२०७६ मंसिरमा फोरजी प्रयोगकर्ता ४३ लाख ६० हजार ४०० थिए । एक वर्षको अवधिमा फोरजी प्रयोगकर्ता २२ लाख ६१ हजार ९१६ ले बढेको छ । उक्त अवधिमा ५१.८७ प्रतिशतले फोरजी ग्राहक बढेका छन् ।

चालु वर्षको मंसिरसम्म नेपाल टेलिकम र एनसेलले फोरजी ग्राहक बढाएका छन् भने स्मार्ट टेलिकमको भने फोरजी ग्राहक घटेको छ ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै ग्राहक नेपाल टेलिकमको बढेको छ । नेपाल टेलिकमको फोरजी ग्राहक डेढ सय प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । नेपाल टेलिकमको फोरजी ग्राहक १६८.४५ प्रतिशतले बढेको छ । २०७७ मंसिरसम्म नेपाल टेलिकमको फोरजी ग्राहक २२ लाख ५७ हजार ७७२ जना छन् । गत वर्ष सोही अवधिमा नेपाल टेलिकमको ग्राहक ८ लाख ४१ हजार २२ थिए । एक वर्षको अवधिमा १४ लाख १६ हजार ७५० ले ग्राहक बढेको छ ।

एनलेलको फोरजी ग्राहक २७ प्रतिशतले बढेको छ । चालु वर्षको मंसिरसम्म एनसेलको फोरजी ग्राहक ४१ लाख ५३ हजार १९० पुगेको छ । २०७६ मंसिरसम्म एनसेलको फोरजी ग्राहक ३२ लाख ७० हजार ४३१ थियो । एक वर्षको अवधिमा एनसेलको फोरजी ग्राहक ८ लाख ८२ हजार ७५९ ले बढेको छ ।

गत वर्षको मंसिरको तुलनामा स्मार्ट टेलिकमको फोरज ग्राहक घटेको प्राधिकरणको तथ्यांकमा देखिएको छ । स्मार्ट टेलिकमको यो वर्ष १७.७८ प्रतिशतले फोरजी ग्राहक घटेको छ । २०७७ मंसिरमा स्मार्ट टेलिकमको फोरजी ग्राहक २ लाख ११ हजार ३५४ रहेको छ । गत वर्षको सोहि अवधिमा स्मार्ट टेलिकमको फोरजी ग्राहक २ लाख ४८ हजार ९४७ थिए । एक वर्षको अवधिमा स्मार्ट टेलिकमको ग्राहक ३७ हजार ५९३ ले घटेको छ ।

दूरसञ्चार सेवाप्रदायकमध्ये नेपाल टेलिकमले २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी विस्तार गरेको थियो । एनसेलले २०७४ जेठबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो। स्मार्ट सेलले २०७४ कात्तिकबाट काठमाडौं र पोखराबाट सेवा सुरु गरेको थियो ।

टेन्डर र आन्तरिक विवादका कारण टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको एक वर्ष गति लिन सकेको थिएन। २०७४ माघबाट भने टेलिकमले फोरजी सेवा विस्तारलाई आक्रामकता साथ अघि बढाएको थियो ।

२०७५ असोज ५९ वटा साना तथा ठूला सहरमा टेलिकमले फोरजी सेवा सुरु ग¥यो । २०७५ माघदेखि टेलिकमले ७७ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ । ७७ जिल्ला फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

फाइभजी फ्रिक्वेन्सी पारित

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डले फाइभजी प्रविधिको मोबाइल नेटवर्क उपलब्ध गराउन प्रस्ताव गरिएका फाइभजी फ्रिक्वेन्सीहरु पारित गरेको छ ।

प्राधिकरण अन्तरगत गठित राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले मंसिरमा नै फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको थियो ।

प्राधिकरणले फाइभजी ब्यान्डलाई तीन वर्गमा विभाजन गरेको छ । ती हुन् न्यून ब्यान्ड, मध्यम ब्यान्ड र उच्च ब्यान्ड ।

न्यून ब्यान्डअन्तर्गत सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज रहेको छ । भने मध्यम ब्यान्डमा ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहज छ । उच्च ब्यान्डको लागि २६ गिगाहर्ज ब्यान्ड सिफारिस गरिएको छ ।


क्लिकमान्डु