स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको धनमाल नष्ट
पर्सा । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।
अपराह्न ३:३० बजेबाट सुरु भएको आगलागी बेलुकासम्म नियन्त्रणमा आउन सकेको थिएन ।
आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गरे । उनले एक/ दुई दिन अगाडि भारतबाट उद्योगका लागि ४ करोडको करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिए ।
उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ । रासस