आईसीयूको अभावमा वीर अस्पतालमा कोरोना संक्रमितको महिलाको मृत्यु
काठमाडौं । वीर अस्पतालमा उपचाररत ४५ वर्षे महिलाको आईसीयूको अभावमा मृत्यु भएको छ ।
२६ दिनदेखि वीर अस्पतालको फिमेल सर्जिकल वार्डमा कोरोनाको उपचार गराइरहोकी उनको बुधबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।
ट्युमरबाट पीडित उनी उपचारका लागि रौतहटबाट वीर अस्पताल आएकी थिइन । तर पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनी वीर अस्पतालको कोभिड वार्डमा असोज ३ गते भर्ना भएको उनका छोरा विजय यादवले जानकारी दिए ।
‘बिहानसम्म अवस्था सामान्य थियो तर दिउँसो ३ बजेतिर एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरलाई बोलाएँ तर कोही पनि आएनन्,’ उनले भने ।
‘हात जोडेर अनुरोध गर्दा पनि कोही आएनन,’ यादवले भने, ‘तर मृत्यु भएको १० मिनेटपछि डाक्टर आएका थिए ।’
डाक्टर आएपछि अन्य बिरामीहरुले चर्को विरोध गरेपछि डाक्टर फर्किएका थिए ।
नर्सले बिरामीलाई आईसीयू चाहिने र अस्पतालमा आईसीयू खाली नभएको बताएका थिए । तर अन्य अस्पतालमा फोन गरेर बुझ्दा समेत आइसीयू उपलब्ध हुन सकेन ।
छोरा यादव आफै पनि कोरोना संक्रमित थिए । केही दिन अघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर मृतक आमाको रिपोर्ट भने दोस्रो पटक पनि पोजिटिभ आएको थियो ।