तीन दिनदेखि रुकुमवासी फोन सेवाबाट वञ्चित
रुकुम। यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फोन अवरुद्ध भएपछि सेवाग्राहीलाई एकअर्कामा सम्पर्क गर्न समस्या भएको छ । फोन सेवा अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि सर्वसाधारण आफैँ सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको मुसिकोट नगरपालिकाका स्थानीयवासी गोरखबहादुर केसीले बताए ।
चट्याङका कारण रिपिटर स्टेसनमा रेडियो उपकरण जलेर पूर्णरुपले क्षति भएको र मर्मतका लागि प्राविधिक टोली नेपालगन्जबाट सम्बन्धित ठाउँमा गइसकेकाले अबको केही दिनपछि फोन सेवा सुरु हुने बताइएको छ । हिमाली क्षेत्रमा हिमपात भएका कारण मर्मतका लागि केही समय लाग्ने नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय नेपालगन्जले जानकारी दिएको छ ।