महासंघको निर्वाचनमा विद्युतीय मतदानमा दुई समूहको फरक मत



काठमाडौं । कोभिड १९ को कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघमा विद्युतीय प्रणालीबाट मतदान गर्ने विषयमा दुई समूहको फरक मत देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन विधान अनुसार चैतमा हुनुपर्ने थियो । कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनको कारण महासंघको निर्वाचन अन्योलमा परेको छ ।

महासंघको कार्यकारिणी समितिले निर्वाचनको विषयमा सुझाव दिनका लागि कार्यदल गठन गरेको थियो ।

कार्यदलमा काठमाडौंमा निर्वाचन गर्ने दोस्रो विकल्पको रुपमा काठमाडौं बाहिर प्रदेशअनुसार निर्वाचन गर्ने सुझाव आएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल पक्ष महासंघको निर्वाचन सकेसम्म काठमाडौंमा गर्नुपर्ने पक्षमा छन् । सोही अनुसारको सुझाव समेत कार्यदलमा ढकाल पक्षले दिएको छ ।

अर्का बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान महासंघको निर्वाचन प्रदेश अनुसार गर्नुपर्ने पक्षमा छ । अवस्था सहज भएमा मात्र काठमाडौंमा गर्नुपर्ने पक्षमा प्रधान समूहले सुझाव बढी छ ।

ढकाल पक्षले भने काठमाडौंमा निर्वाचन हुन नसकेको खण्डमा मात्र प्रदेशगतरुपमा चुनाव गर्नुपर्ने सुझाव राखेको छ ।

पहिलो र दोस्रो बिकल्पको रुपमा सहमति देखिएपनि ढकाल र प्रधान समूहबीच कोभिडको कारण निर्वाचन हुन नसक्ने स्थिती आएमा तेस्रो विकल्पको बारेमा भने सहमति जुट्न सकेको छैन ।

कार्यदलमा आएको सुझावमा ढकाल पक्ष निर्वाचनलाई लामो समयसम्म रोक्ने पक्षमा रहेको छैन । ढकाल पक्षले काठमाडौंमा पनि निर्वाचन हुन नसक्ने प्रदेशगत रुपमा समेत गर्न नसक्ने अवस्थामा विद्युतीय प्रणालीबाट भोटिङ गर्नुपर्ने सुझाव दिएको छ ।

प्रधान समूहले विद्युतीय प्रणाली दुरुपयोग हुने भन्दै यसबाट निर्वाचन गर्न नहुँने सुझाव दिएको छ ।

कार्यदलमा पूर्व अध्यक्षबाट चण्डिराज ढकालको मात्र सुझाव
कार्यदलले पूर्व अध्यक्षहरुको समेत सुझाव माग गरेको थियो । जसमा चण्डीराज ढकालले मात्र आफ्नो सुझाव दिएका छन् ।

‘कार्यदलले सबै पूर्व अध्यक्षसँग सुझाव मागेको भएपनि चण्डीराज ढकालबाट मात्र सुझाव आएको छ,’ कार्यदलका एक सदस्यले भने ।

ढकालले काठमाडौंमा सुरक्षाको मापदण्ड अवलम्बन गर्दै निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन् ।

कार्यदलले सुझावहरुलाई महासंघमा बुझाउने छ । महासंघको कार्यकारिणी बैठकले कार्यदलको सुझाव अनुसार निर्वाचनको मोडालिटी टुंगो लगाएर निर्णय गर्ने छ ।


क्लिकमान्डु