युट्युबले किन हटायो १ करोड १४ लाख भिडियो ?
काठमाडौं । श्रव्य दृश्य माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।
कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्यांकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो ।
कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीको तथ्यांक छ ।
‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौं ’ कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ ।
लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।