एक महिनामा २५ करोडको माक्स र सेनिटाइजर आयात, चीनबाट मात्रै ७ करोडको



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा मात्रै करिब २५ करोड रुपैयाँ बराबरको माक्स, सेनिटइजर र डिसइन्फेक्सन पदार्थ आयात भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै माक्स र सेनिटाइजर आयात पनि बढेको हो । जसमा साउन महिनामा मात्र चीनबाट ७ करोड रुपैयाँभन्दा बढीको माक्स आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा मात्र नेपालमा १७ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको सेनिटाइजर तथा डिसइन्फेक्सन पदार्थ र ७ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको माक्स आयात भएको छ ।

नेपालले हाल भारत, चीन, जर्मनी, इन्डोनेसिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, बेलायत, संयुक्त अरब इमिरेट, भियतनाम, अमेरिका, ताइवान, कोरिया लगायतका देशबाटसेनिटाइजर, माक्स र डिसइन्फेक्सन पदार्थ आयात गर्छ ।

साउन महिनामा नेपाल आयातित सेनिटाइजरमध्ये सबैभन्दा बढी भारतबाट ११ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको सेनिटाइजर र डिसइन्फेक्सन पदार्थ आयात भएको छ । साथै, सो अवधिमा भारतबाट ५१ लाख ३२ हजार रुपैयाँ बराबरको माक्स आयात भएको हो ।

यसैगरी, चीनबाट साउन महिनामा ३ करोड ३५ लाख ८३ हजार रुपैयाँ बराबरको सेनिटाइजर र डिसइन्फेक्सन पदार्थ आयात भएको छ । सो अवधिमा चीनबाट ७ करोड रुपैयाँ बराबरको माक्स आयात भएको हो ।

नेपालमा गत वर्ष माघमा नै कोरोना संक्रमित भेटिएपनि चैत महिनाबाट कोरोनाको संक्रमण बढेको थियो ।

गत आर्थिक वर्षमा विभिन्न देशबाट ७४ करोड ३२ लाख ९४ हजार रुपैयाँको स्यानिटाइजर आयात भएको थियो । साथै सो अवधिमा ३८ करोड ८० लाख रुपैयाँ बराबरको माक्स आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु