कर्मचारी समायोजन र व्यवस्थापन नै मर्जरपछिको चुनौतिः बैंकर कृष्ण शर्माको लेख



टिमोथी जे गेल्पिन र मार्क हेरन्डरद्वारा सन् २०१४ मा प्रकाशित पुस्तक ‘दि कम्प्लिट गाइड टु मर्जर एण्ड एक्युजिसन’ अनुसार संस्था मर्जरको सफलता मर्जरको लागि सैद्दान्तिक सहमतिमा हस्ताक्षर भएपछिको पहिलो सकारात्मक प्रेस विज्ञप्तिबाट नै शुरु हुन्छ ।

संयुक्त प्रेस विज्ञप्तिको साथसाथै सस्थाको कार्यकारी तहसँग गरिएका छट्टाछुट्टै अन्तर्वार्तामा प्रेसित मर्जरप्रतिको सकारात्मक अभिव्यक्ति भविष्यमा हुन गई रहेको मर्जरको लागि एउटा बलियो आधार बन्नसक्छ जसले कर्मचारीमा सकारात्मक भावनाको उजागर गराउँछ ।

मर्जरमा कर्मचारी समायोजनलाई एउटा प्रमुख चुनौति मानिन्छ । एउटै प्रकृति र तहका संस्था एक आपसमा गाभ्दा कर्मचारीमात्र नभई प्रमुख कार्यकारी अधिकृतको व्यवस्थापन पनि आफैमा जटिल प्रक्रिया हो ।

दुई वा बढी संस्थाहरुको मर्जरमा एक वा बढी प्रमुख कार्यकारी अधिकृतले छाड्नु पर्ने वा एक तह घटुवा गर्नु पर्ने भएकोले उनीहरुको व्यवस्थापन गर्ने कार्य त्यति सहज देखिँदैन ।

यस्तै समस्या बैंकको विभागिय प्रमुखको व्यवस्थापनमा पनि आउनसक्छ जसको ज्वलन्त उदाहरणको रुपमा नेपालमा बैंक तथा वित्तीय संस्थाको मर्जरपछि समायोजनमा चित्त नबुझेकै कारण कर्मचारीले राजिनामा दिई अन्य संस्थामा गएको समाचार पनि प्रकाशित भएका थिए ।

तसर्थ नेपालको परिपेक्षमा बैंकिङ मर्जर आवश्यक छ वा छैन भन्नुभन्दा पनि मर्जर कसरी सफल बनाउन सकिन्छ र कर्मचारीको व्यवस्थापनसँगै यसबाट अपेक्षित लाभ कसरी लिन सकिन्छ भन्नेबारेको बहस आवश्यक देखिन्छ ।

एक अध्ययनअनुसार गाभ्ने र गाभिने कार्यमा संलग्नमध्ये करिब ६० प्रतिशत संस्थाले कर्मचारीलाई आवश्यक तालिम र उत्प्रेरणा प्रदान नगरेकै कारण कर्मचारीहरुमा मनोबल घटेको पाइएको थियो ।

जसकारण कर्मचारीले संस्था छाड्ने दर बढेर गएको र संस्थाले अपेक्ष्।ित लाभ हासिल गर्न असमर्थ भएको पाइएको थियो । तसर्थ गाभ्ने र गाभिने कार्य सम्पादन पुर्वकर्मचारी उत्प्रेरणा र तालिमको उचित व्यवस्थापनले भविष्यमा कर्मचारी समायोजनमा आवश्यक सहयोग पुग्छ ।

विश्वभर संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्तिमा जानुमा विभिन्न तत्व, उद्देश्य तथा सिद्दान्तले प्रभाव पारेको देखिन्छ । नेपालमा हालसम्म भएका मर्जरका उदाहरणलाई हेर्दा उनीहरु प्रभावकारिताको सिद्धान्तबाट प्रभावित भएको पाईन्छ । यस सिद्दान्तअनुसार गाभ्ने/गाभिने तथा प्राप्ति योजनाबद्ध हुन्छ । र, यसबाट समष्टिकृत लाभ प्राप्त गर्न सकिन्छ, जुन लागत घटाएर वा बिक्री बढाएर, प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरेर प्राप्त हुनसक्छ ।

जेन्स हेगेन्डांर्फ र केविन क्लीसे सन् १९९६ देखि २००४ सम्म गाभ्ने/गाभिने प्रक्रियमा संलग्न युरोप तथा अमेरिकाका बैंक तथा वित्तीय संस्थाको अध्ययनबाट ‘पोष्ट मर्जर स्ट्राटेजी एण्ड परफरमेन्स’ प्रतिवेदन तयार गरेका थिए ।

उनको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाले मर्जरबाट अपेक्षित लाभ हासिल गर्न आम्दानी वृद्वि गर्र्ने रणनिती लिएको पाइएको थिए भने अमेरिकापछिको दोस्रो मर्जरका लागि सक्रिय बजार मानिएको युरोपमा मर्जरबाट अपेक्षित लाभ हासिल गर्न लागत कम गर्ने रणनिति लिएको पाइएको थिए ।

अध्ययन अवधिमा युरोपियन बैंकहरुले मर्जरबाट अपेक्षित लाभ हासिल गर्न र मर्जरलाई सफल बनाउन खर्चमा मितव्यायिता अपनाएका थिए भने अमेरिकाका बैंकहरुले व्याज तथा अन्य शुल्क वृद्धि गरी आम्दानी बढाउने रणनीति अवलम्बन गरेका थिए । त्यस्तै युरोपमा गरिएको अर्को अध्ययनमा मुनाफामा सामान्य मात्राको वृद्धि भएता पनि गाभ्ने/गाभिने कार्यले कर्जा जोखिममा भने कमी आएको पाइएको थियो ।

एउटै उद्योगभित्र रहेका बिभिन्न प्रतिस्पर्धी संस्थाहरु एकआपसमा गाभिएर कार्य गर्नु आफैंमा एक जटिल विषय हो । खासगरी बंैकिङ क्षेत्र र अन्य सेवा व्यवसायमा यसको अहम् भुमिका कर्मचारीको सन्तुष्टीसँग जोडिएको हुन्छ ।

एउटा ढाँचा र गतिमा चलिरहेको संस्था अर्को संस्थाको फरक ढाँचा र फरक गतिमा जानु पर्दा कार्यगत भिन्नता हुने भएकोले व्यवस्थापनले समयमै कर्मचारीलाई मर्जरको सूचना उपलब्ध गराउने, छनौटमा पारदर्शिता ल्याउने, निर्णयमा सहभागिता गराउनेजस्ता कार्यले कर्मचारीमा मर्जरप्रति थप उत्साह सिर्जना गराउँछ ।

२०६८ असार १ गते नेपाल राष्ट्र बैंकले बंैक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने विनियमावली कार्यान्वयमा ल्याएपछिको साढे ८ वर्षको अवधिमा ‘क’ ‘ख’ र ‘ग’ वर्गका कुल १९७ वटा बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभिएर ६९ वटा संस्था बनेका छन् ।

अर्थात् १२८ वटा बैंक तथा वित्तीय संस्था घट्न गएका छन् । र, केही संस्थाहरु हाल पनि मर्जरकै चरणमा रहेका छन् भने अहिले बैंकिङ क्षेत्रमा बिग मर्जरको तातो बहस चलिरहेको छ ।  मर्जरलाई विश्व अर्थतन्त्रमा आर्थिक सवलिकरणको मुख्य औजारकारुपमा मानिँदै आएको छ । भारतमा १ अप्रिल २०१९मा निजी क्षेत्रका १० वटा बैंकहरु एकआपसमा गाभिएर ४ वटा बनेका थिए ।

सन् २०१७ मा २७ को सख्यांमा रहेका निजी क्षेत्रका बैंकको संख्या घटेर अहिले १२ मा झरकोे छ । भारतका निजी क्षेत्रका बैंकहरुको मर्जरको मुख्य उद्देश्य बैंकहरुको आकार विश्वव्यापीस्तरको बनाउनु रहेको थियो ।

सन् २००४ मा इग्नो वाल्टरद्वारा प्राकाशित पुस्तक ‘मर्जर एण्ड एक्विजिसन इन बैंकिङ एण्ड फाइनान्स’मा प्रस्तुत मानव संशाधन सम्बन्धी अवधारणाले गाभ्ने/गाभिन संस्थामा मानव संसाधनको दिगो प्रतिस्थापनका लागि आवश्यक कर्मचारीको पारदर्शी प्रक्रिया वा विधिबाट उपयुक्त पदको लागि पहिचान र छनौट गर्नु पर्ने उल्लेख गरेको छ ।

१०० भन्दा बढी सफल मर्जर पछिको एक अध्ययनले मर्जर कार्य सफल बनाउन भिजन, वास्तुकला र नेतृत्वको महत्वपूर्ण भुमिका रहने उल्लेख गरेको छ ।  यहाँ भिजन भन्नाले मर्जरको उदेश्य अनुरुप स्पष्ट भविष्यको योजना सहितको मार्गचित्र तयार हुनेगरी मर्जर पछिको कार्यदिशा तयार गर्नु हो ।

वस्तुकला भन्नाले परिवर्तन सहितको पुनः संरचना तयार गर्ने र नेतृत्व भन्नाले छिटोभन्दा छिटो नयाँ नेतृत्वको छनौट गर्ने र कर्मचारीलाई पूर्व सूचनासहित आवश्यक तालिम प्रदान गरेर नयाँ नेतृत्वको मातहतमा काम गर्न प्रोत्साहित गर्ने कार्यहरु पर्छ ।

नेपालमा पनि ३२ को संख्यामा रहेका वाणिज्य बैंकहरु मर्जरका विभिन्न चरणहरु पार गर्दै २७ को संख्यामा झरेका छन् । हालसम्म ‘क’ वर्गका ठूला वाणिज्य बैंकहरुमध्ये ग्रान्ड बैंक नेपाल, कर्मज एण्ड ट्रष्ट बैंक, बैंक अफ एशिया, लुम्बिनी बैंक, किष्ट बैंक र जनता बैंक बैंक गाभ्ने÷गाभिने प्रक्रियामा सामेल भएर इजाजतपत्र खारेज भएको छ ।

मर्जर तथा एक्विजिसनमा कर्मचारी समायोजन सहज बनाउनको लागि संस्थाहरुले कर्मचारीका लागि स्वेच्छिक अवकास योजनासमेत ल्याएको पाइन्छ । नेपालमा पनि केहि बैंक तथा वित्तीय संस्थाहरुले स्वेच्छिक योजना ल्याएका थिए ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ प्रकोपका कारण विश्व अर्थतन्त्र तथा मानव जिवनमा देखिनसक्ने यस विषम परिस्थितिमा स्वेच्छिक अवकाश योजना कतिको उपयुक्त हो भन्ने छलफलको छुट्टै बिषय भएतापनि मर्ज भई सकेका ठुला बैंकले यस्तो प्याकेज ल्याउनुले मर्जर अगाडिनै कर्मचारी व्यवस्थापका गर्नु पर्ने तथ्यलाई भने अझै प्रष्टाउँछ ।

बैंक तथा वित्तीय संस्थाको संख्या घटेको कारण स्वेच्छिक अवकाश योजना ल्याउनु परेको भने अवश्य होइन् । २०७२ असारमा क, ख र ग वर्गका कुल शाखा संख्या २ हजार ७२२ बाट बढेर २०७७ जेठसम्म ५ हजार ६९४ पुगेको छ ।

सो सँगै कर्मचारी संख्यामासमेत समायोजनसहितको उल्लेख्य वृद्धि गर्नु पर्ने बैंकहरुलाई बाध्यता देखिन्छ जसको लागि नियमनकारी निकायले समेत ‘टू बिग टु फेल’ को सिद्दान्तमा ध्यान दिँदै वित्तीय स्थायित्व कायम गर्न आवश्यक योजना तर्जुमा गर्नु पर्ने हुन्छ । ‘टू बिग टु फेल भई’ देशका लागि अति महत्वपुर्ण क्षेत्र असफल भएमा विनाशकारी परिणाम ल्याउन सक्ने भएकोले यसतर्फ सजग हुनु जरुरी देखिन्छ ।

गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थाले कर्मचारी समायोजन सम्बन्धमा उचित सम्बोधन हुने गरी सहमति कायम गर्न र स्वेच्छिक अवकाशको योजना अगाडि सार्नुपर्छ ।

कुनै तहमा बढि वा घटी हुने कर्मचारी संख्या पत्ता लगाई सोही अनुरुप हरेक तहका कर्मचारीलाई समेट्ने गरी ब्यवस्था, फरक संस्थाबाट आएका कर्मचारीलाई पारदर्शी रुपमा समान व्यवहार गर्ने आदि कार्यहरु गर्नुपर्छ ।

समयमा नै मानव संशाधनसँग जोडिएका निर्णय गरेर कर्मचारीमा रहेको अनिश्चितता हटाउने, उपयुक्त प्रतिभाको सम्मान गर्ने, आवश्यक तालिम तथा उत्प्रेरणा प्रदान गर्ने, पारदर्शी छनौट विधि अपनाउने, निर्णयमा सहभागि गराउने जस्ताकार्यले कर्मचारीको मनोबल बृद्धि गर्दछ ।

तसर्थ पुँजीगत आधार बलियो बनाउँदै व्यावसायिकताको अभिवृद्धि, पारदर्शी र प्रतिष्पर्धी हुँदै बलियो संस्थाबाट कम लागतमा प्रभावकारी सेवा प्रवाह गर्न उचित कर्मचारी समायोजन सहीतको मर्जर आवश्यक रहन्छ । (लेखक शर्मा कुमारी बैंकमा कार्यरत छन् । यी लेखकका निजी विचार हुन् ।)


पुष्प दुलाल