इन्टरनेटमा क्रान्तिः ओप्पोले वाइफाइभन्दा १०० गुणा छिटो चल्ने लाइफाई ल्याउँदै



काठमाडौं । आजभन्दा केही वर्ष पहिले सहजरुपमा इन्टरनेटको प्रयोग गर्न पाउनु पनि परको कुरा थियो । शहरका एकाध स्थानमामात्रै साइबर क्याफेहरु खोलिएका हुन्थे । इन्टरनेटका लागि आम मानिस त्यसैमा भर पर्नुको विकल्प थिएन ।

तर पछिल्लो समय विज्ञान तथा प्रविधिले ल्याएको परिवर्तनका कारण इन्टरनेट सर्वसुलभ हुन पुगेको छ ।

स्मार्ट फोन आएपछि हरेकका हात-हातमा नै इन्टरनेट आइपुगेको छ । धेरैजसो स्थानमा सहजैरुपमा वाइफाई समेत पाउन थालिएको छ ।

इन्टरनेट विस्तारमा पनि अनेकन प्रतिस्पर्धा भइरहेको छ । व्यापार, व्यवसायको परिदृश्यमासमेत बदलाव आएको छ । हरेकका हातमा रहेका स्मार्ट फोनले सहज रुपमा उच्च गतिको इन्टरनेट चलाउन सक्ने वातावरण बनाइदिएको छ ।

त्यसो त दूरसञ्चार सेवा प्रदायकहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले विभिन्न प्याकेज नै दिएर इन्टरनेटको डेटामा राम्रै प्रतिस्पर्धा गरिरहेका छन् ।

कोरोनाका कारण धेरै जसो मानिस घरभित्रै रहँदा इन्टरनेट खपतको मात्रामा समेत उल्लेख्य वृद्धि भएको छ । तर दूरसञ्चार सेवा प्रदायकले दिएको इन्टरनेटभन्दा उच्च गतिको इन्टरनेटको समेत खोजी भइरहेको छ ।

उच्च गतिको इन्टरनेट प्रदान गर्ने ध्येयका साथ स्मार्टफोन निर्माता कम्पनीले लगातार नयाँ-नयाँ खोज तथा अनुसन्धान गरिरहेका छन् । उनीहरुले गरिरहेको खोजको खास उद्देश्य भने प्रकाशलाई प्रयोग गरेरै उच्च गतिको इन्टरनेट दिने तयारी रहेको छ ।

खोजहरुबाट प्राप्त विवरणअनुसार वाइफाई भन्दा १०० गुणा बढी गतिका साथ लाइफाई सेवा दिन सकिन्छ । त्यसमा प्रकाश अर्थात् लाइटको सहयोगमा डेटा प्रसारण हुनेछ ।

तपाईको फोनमा कुनै एप्स इन्स्टल गर्न, मेल हेर्न वा गुगल सर्च गर्न इन्टरनेटको आवश्यकता पर्दछ । यस्तै सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर र पछिल्ला दिनमा त टिकटक हेर्नका लागि समेत इन्टरनेटको खपत हुने गरेको छ । यस्तै, अध्ययन तथा खोजका लागि समेत इन्टरनेट भरपर्दो साथी बनीरहेको छ ।

एक दिन इन्टरनेट नहुँदा पर्ने अप्ठ्यारोबाट जो कोही पनि हामी जानकार नै छौ । स्मार्ट फोनमा राम्रोसँग काम गर्न वा चलाउन तब हामी सक्छौं, जहाँ उच्च गतिको इन्टरनेट होस् ।

उच्च गतिको इन्टरनेटका लागि स्मार्ट फोन निर्माता कम्पनीले लगातार खोज तथा अनुसनधान गरिरहेको सन्दर्भमा चिनियाँ कम्पनी ओप्पोले सोही आवश्यकतालाई मध्यनजर गरेर प्रकाशको सहायताले भल्ने लाइफाई टेक्नोलोजीको परिक्षण गरिरहेको छ । उसले आगामी दिनमा ल्याउन लागेको स्मार्ट फोनमा लाइटकोमाध्यमबाट चल्ने वाइफाई भन्दा १०० गुणा बढी गति भएको लाइफाई प्रविधि ल्याउने तयारी थालेको छ ।

समाचारहरुमा जनाइए अनुसार ओप्पोले लाइफाई प्रविधि भएको स्मार्ट फोन ल्याउने तयारी गरिरहेको छ । ओप्पोले त्यस्तो फोनको लागि प्याटेन्ट राइटसमेत तयार पारिसकेको छ । त्यसमा लाइट सेटिङ कनेक्टिभिटी सर्पोट गर्नेछ । यो विषयमा पछिल्ला केही वर्षदेखि चर्चा भइरहेको भएपनि कोही कसैले त्यसमा काम गर्न सकेका थिएनन् । ओप्पोले भने प्याटेन्ट राइट सहित लाइफाई चल्ने प्रविधि तयार पारिरहेको छ । जुन एकाध वर्षभित्र सञ्चालनमा आउने छ ।

लाइफाईमा त्यस्तो एउटा प्रविधि हो, जसमा डेटा प्रकाशको मद्दतबाट ट्रान्सफर हुन्छ । महत्वपूर्ण कुरा यो छ कि प्रकाशको स्रोत कम भएपनि लाई फाई प्रविधिले काम गर्न सक्छ ।

प्रकाश कम हुँदै गएपनि काम गर्नसक्छ, जबकी आँखाले देख्न नसक्ने प्रकाशमा समेत इन्टरनेट चल्न सक्छ । त्यसकारण पनि यो वाइफाई भन्दा बढी सुरक्षित हुने मानिएको छ । वाइफाई प्रविधिभन्दा बाहिर गएर पनि यसको जडान गर्न सकिन्छ ।

जानकारहरुका अनुसार भारतको सूचना तथा प्रविधि मन्त्रालयले समेत सन् २०१८ मा नै उक्त प्रविधिको परिक्षण गरिरकेको छ । उक्त प्रविधि १ किलोमिटर प्रति घण्टाको गतिमा १० जिबी प्रति सेकेण्डको गतिमा प्रसारण गर्न सक्छ ।

त्यसको प्रसारणका लागि एलइडी बल्ब तथा लाइट इफेक्टको उपयोग गर्न सकिन्छ । यस्तो प्रविधि पहाडी तथा जटिल भूगोल भएको स्थानमा जडान गर्न सकिन्छ । विजुली भएका स्थानमा सहजै यस्तो प्रविधिबाट इन्टरनेट सेवा पुर्याउन सकिन्छ ।


पुष्प दुलाल