कृषि विकास बैंकको नाफा १७.२६ प्रतिशतले घट्यो, सेयरधनीलाई ११.११ प्रतिशत लाभांश क्षमता



काठमाडौ । कृषि विकास बैंकको खुद नाफा १७.२६ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आवको तुलनामा ७२ करोड ३५ लाख रुपैयाँले खुद नाफा घटाएर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित गरेको हो । अघिल्लो आवमा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्ष अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सो अवधिमा वितरण योग्य नाफा १ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट ११.११ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २०.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ६ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा १ अर्ब ६२ करोड रुपैयाँले घटेर ६ अर्ब २३ करोड रुपैँयामा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकल १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकको निक्षेप संकलन २०. ८९ प्रतिशत र कर्जा प्रवाह १३.०९ प्रतिशतले बढेका हो ।

यसैगरी अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी १८.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ३२ रुपैयाँ ८८ पैसामा सीमित भएको छ ।

बैंकको खराबकर्जा अनुपात २.७१ प्रतिशत, कबेसरेट ९.२६ प्रतिशत र स्प्रेडरेट ४.४४ प्रतिशत छ ।


क्लिकमान्डु