बैंकको ब्याज शतप्रतिशत छुट दिन व्यवसायीको माग



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेको छ ।

महासङ्घले शुक्रबार विज्ञप्ति जारी गरी कोभिड-१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गरे । ‘बन्दाबन्दी अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ’, उनले भने ।

महासङ्घले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न मागसमेत गरेको छ । २०७३ मा स्थापना भएको महासङ्घमा विभिन्न २० सङ्घ आबद्ध छन् भने झण्डै २५ हजार व्यवसायी आबद्ध रहेका छन् ।


क्लिकमान्डु