बाढी र वर्षाको कारण देखाउँदै नेकपाको स्थायी कमिटीको बैठक ७ दिन स्थगित



काठमाडौं । देशभरी भइरहेको भारी वर्षाको कारण देखाउँदै सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक एक साताका लागि स्थगित भएको छ ।

शुक्रबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटीको बैठकमा ३० जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो धारणा राखेपछि लगातार स्थगित हुँदै आएको बैठक गत बुधबार पनि स्थगित भएको थियो । प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर पार्टीभित्र चरम असन्तुष्टि र विवाद बढेपछि दुई अध्यक्ष ओली र प्रचण्डबीच यसबीचमा भएका छलफल समेत निश्कर्षमा पुग्न सकेको थिएन ।

छलफल निश्कर्षमा नपुगेकाले बैठक स्थगित गर्नुपर्ने माग उठिरहेका बेलामा प्राकृतिक विपत्तीले त्यसमा साथ दिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार देशभर भइरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायतका केही जिल्लामा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितीमा सम्पूर्ण पार्टीपक्तिलाई राहत र उद्दारमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीका केन्द्रीय कमिटीको तर्फबाट निर्देशन दिँदै बैठक ७ दिनसम्मका लागि स्थगित गरिएको हो ।


क्लिकमान्डु