कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएः प्रधानमन्त्री केपी ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुल कोरोना संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट आएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले दैनिक ७ हजारदेखि १० हजार जना भारतबाट नेपाल भित्रिएको समेत बताए । उनले यति ठूलो संख्यामा आउँदा भारतमै संक्रमित भएर आएको समेत बताए ।

भारतबाट आउँदा रेलमा, गाडीमा खाँदिएर आउने भएकाले संक्रमणको जोखिम उनीहरुमा बढी भएको बताए । धेरै जसो मानिसहरु भारतमै संक्रमित भएर आएको उनको भनाइ छ ।

उनका अनुसार बैशाखमा ७ हजार जना भारतबाट नेपाल प्रवेश गरेकोमा जेठ महिनामा २ लाख २२ हजार ६५४ जना नेपाल आएका छन् । त्यस्तै, जेठ १८ गतेदेखि दैनिक भारतबाट ७ देखि १० हजार जना व्यक्ति नेपाल आएका छन् ।

उनले नेपालीमा प्रतिरोधात्मक क्षमता राम्रो भएको र उपचारको व्यवस्था समेत राम्रो भएकाले निको हुनेको संख्या बढ्दै गएको बताए ।

त्यस्तै मृत्यु हुनेहरुको हकमा कोरोना कारणमात्रै नभइ अन्य रोगमा पीडित विरामीमा कोरोना देखिएको बताए । उनले परीक्षण बढाउनका लागि पीसीआर मेसिनहरु ल्याउने क्रम पनि जारी रहेको बताए ।

हाल क्वारेन्टिनमा २ लाख ३५ हजार ५९६ बेडसंख्यामा रहेको दाबी गर्दै मापदण्ड कडाइका साथ कार्यान्वयन गरिरहेको उनको दाबी छ । कतिपय ठाउँमा मापदण्ड नपुगे पनि त्यसका लागि व्यवस्थापना गरिरहेको उनले बताए । उनले आवश्यकता र सामथ्र्यका कारण समस्या सिर्जना भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा भन्दा विदेशमा रहेका नेपालीमा बढी संक्रमण भएको बताए । उनले विदेशमा १४ हजार ४५४ जना नेपालीमा संक्रमण भएको र १३ वटा मुलुकमा १२७ जनाको मृत्यु भएको जानकारी दिए ।


क्लिकमान्डु