संविधान संशोधनमा कसैको देवत्वकरण हुँदैन, जस सबैले पाउँछन्ः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा कसैको देवत्वकरण गर्ने कुरा नभइ सबैको समर्थनमा भएकाले जस सबैले पाउने स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सबै एकजुट भएकोमा खुसी व्यक्त गरेका छन् ।

‘बिरलै हुने राष्ट्रिय एकता अहिले देखिएको छ, राष्ट्रिय एकताका लागि सबै एकजुट हुने नेपाली चरित्र नै हो,’ उनले भने, ‘हाम्रा पुर्खाले लडेर बनाएको देश हो, आज हामीले अडिक भएर भौगोलिक अखण्डता कायम राख्न सक्छ । यसका लागि जसरी सबै एकजुट भएका छौं ।’

उनले यस विषयमा कसैको देवत्वकरण गर्ने भन्ने कुरा नभएको भन्दै यो विषय लामो समयदेखि उठाएको, जनस्तरबाट उठेको छ । अनुसन्धानकर्ताहरुले आफ्नै स्वेच्छाले पनि खोज अनुसन्धान पनि भएका छन् । तथ्यहरु खोजेर स्थापित गरेको बताए ।

‘त्यसैले हामीले कसैले पाउने जस पाउने चिन्ता गर्नु पर्दैन र जस छुट्ला कि भन्ने चिन्ता पनि गर्नुपर्दैन । सबैले सर्वसम्मत गरेपछि सबैको भोट, सबैको मन एकैठाउँमा छ । हामी फराकिलो भावनाका साथ अगाडि बढाउनुपर्छ । यसका लागि विभिन्न सर्वदलीय बैठकमा पाएको विचार र जनस्तरबाट आएको विचार र भावनाबाट आएको आधारमा निर्णय गरेका हौं,’ उनले भने ।

ओलीले यस्तो बेलामा राष्ट्रियता, स्वाधिनता, भौगोलिक स्वतन्त्रताको, भूमिमाथिको स्वाधिनताको सवाल स्पष्ट रहेको दाबी गरे । संविधान संशोधन प्रस्तावले यसलाई प्रमाणित गरेको बताए । उनले सबै एक भएर अडिग भए भौगोलिक एकता कायम गर्न सक्ने दाबी गरे ।


क्लिकमान्डु