कोरोनाले ह्वात्तै घटायो बैंकहरुको नाफा, असार मसान्तमा के होला ?



काठमाडाैं । कोरोनाको महामारीका कारण २० दिनको लकडाउनमा परेका नेपालका वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत चैतसम्मको त्रैमासिक वित्तीय विवरणले नाजुक तस्बीर देखाएका छन् । अधिकांश बैंकहरुको वितरणयोग्य नाफा नगन्य देखिएको छ भने ६ वटा बैंकहरु ऋणात्मक वृद्धिको स्थितिमा पुगेका छन् ।

मुलुकमा ५०औं दिन लकडाउन जारी रहेको र संक्रमण बढेसँगै यो क्रम अझ बढ्ने स्थिति देखिएपछि आगामी असारको अवस्था कस्तो हुने हो भन्ने गम्भीर चिन्ता व्यक्त हुन थालेको छ । कतिपय बैंकले त राष्ट्र बैंकको निर्देशन विपरीत ब्याजदर अन्तर स्प्रेड बढाएर ५ प्रतिशतभन्दा माथि पुर्याए पनि नाफा बढाउन सकेनन् ।

विगत २ वर्षयता आर्थिक गतिविधिहरु खुम्चिएको र चुक्ता पुँजी बढेर प्रतिफल साँघुरिएको अवस्थामा सेयरधनीलाई लाभांश दिने दबाबमा रहेका बैंकहरु अस्वस्थ प्रतिस्पर्धामा समेत उत्रिने गरेका थिए । कतिपय बैंकहरु प्रतिफल उच्च बनाउने रणनीति अन्तर्गत शाखा विस्तार गरी आक्रामक वृद्धितर्फ लागेका थिए ।

वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ६० प्रतिशतले घट्यो, ६ बैंकको ऋणात्मक

तर अनुमानभन्दा बाहिरको संकट आएपछि तिनको सञ्चालन खर्च ह्वात्तै बढेको छ र तेस्रो त्रैमासमा आइपुग्दा खर्च मात्र बढेको र आम्दानी नबढेका कारण नाफा प्रभावित बन्न पुगेको हो ।

लकडाउनका कारण नेपालको अर्थतन्त्र पनि डामाडोल स्थितिमा पुगेको र विश्वका अन्य मुलुकमाजस्तो नेपालले राहत तथा अन्य उद्दार र उत्थानका कार्यक्रम एवं आर्थिक सहयोग गर्न नसक्ने भएकोले त्यसको असरस्वरुप बैंक तथा वित्तीय क्षेत्रमा अझ गम्भीर नकारात्मक असर पर्न जने अड्कलबाजी गर्न थालिएको छ ।

लकडाउनको अवधि लम्बिने हो भने आर्थिक गतिविधिहरु खुम्चिएर बैंकको ब्याज असूलीमा प्रतिकूल असर पर्ने बैंकरहरु बताउँछन् ।

ह्वात्तै घट्यो नाफा

आर्थिक गतिविधिहरु सञ्चालन हुन नसकेपछि बैंकहरुको कुल आम्दानी एनएफआरएस पनि घटेको छ भने आम्दानी नबढेर खर्चमात्र बढेका कारण वितरणयोग्य नाफा पनि स्वात्तै घटेको छ । कुल ११ वटा बैंकले ५० करोडभन्दा बढी वितरणयोग्य नाफा गरेका छन् । नौवटा बैंकको नाफा ५० करोडभन्दा मुनि रहेको छ ।

वाणिज्य बैंकहरुको नाफा साढे ४५ अर्ब बढी, कुन बैंककाे कति ?

सरकारी स्वामित्वको नेपाल बैंक ६ करोड, बैंक अफ काठमाण्डू ९ करोड, सिद्धार्थ १५ करोड, सनराइज १७ करोड, सिभिल १९ करोड र लक्ष्मी बैंक २१ करोड घाटाको स्थितिमा पुगेका छन् । वितरणयोग्य नाफाकोस्तर क्रमानुसार ५० करोडभन्दा बढी नाफा कमाउने बैंकमा नबिल, स्टाण्डर्ड चार्टर्ड, कृषि विकास, राष्ट्रिय वाणिव्य बैंक, एभरेष्ट, हिमालयन, प्रभु, प्राइम, एनएमबी, ग्लोबल र सानिमा बैंक रहेका छन् ।

सबैभन्दा ठूलो पोर्टफोलियो अर्थात् १ खर्ब ९६ अर्ब रहेको एनआईसी एसिया बैकले जम्मा ४० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यस बैंकको चैतसम्मको कुल सञ्चालन खर्च मात्र करिव ३ अर्ब ३२ करोड रहेको छ । यही खर्चका कारण बैंकको नाफा घटेको हो । निजी क्षेत्रका बैंकमध्येमा सबैभन्दा बढी सञ्चालन खर्च एनआईसी बैंकको रहेको छ भने योभन्दा बढी सञ्चालन खर्च सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रु ३ अर्ब ७० करोड रहेको छ ।

त्यस्तै २ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन खर्च हुनेमा कृषि विकास बैंक, ३ अर्ब १६ करोड, ग्लोबल आईएमई ३ अर्ब, स्टाण्डर्ड चार्टर्ड बैंक २ अर्ब ५७ करोड, नबिल २ अर्ब ४५ करोड, प्रभु २ अर्ब ४१ करोड, सिद्धार्थ बैंक २ अर्ब ३९ करोड, हिमालयन बैंक २ अर्ब २९ करोड, नेपाल बैंक २ अर्ब २५ करोड र एनएमबी बैंक २ अर्ब १५ करोड रहेको छ । यी सबै बैंकको आम्दानी नबढेको र उहीस्तरको सञ्चालन खर्च रहेकोले वितरणयोग्य नाफा उल्लेख्य मात्रामा घट्न पुगेको हो ।

सबैभन्दा कम सञ्चालन खर्च निजीक्षेत्रबाट सञ्चालित प्राइम कमर्सियल बैंकको चैतसम्ममा १ अर्ब १६ करोड मात्र रहेको छ । त्यसपछि कम सञ्चालन खर्च हुनेमा एनबी बैंकको १ अर्ब १९ करोड, सेन्चुरी बैंकको १ अर्ब २० करोड, सिभिल बैंकको १ अर्ब २४ करोड, सिटिजन्स बैंकको १ अर्ब २९ करोड, एनसीसी बैंकको १ अर्ब ३७ करोड रहेको छ ।

प्रोभिजनिङ पनि बढ्यो

केही वाणिज्य बैंकहरुले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) बढी मात्रामा गर्दा पनि नाफा घटेको छ । राष्ट्र बैंकले सुविधा दिइरहेकै अवस्थामा बढी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नाको कारण कर्जाको गुणस्तर नै विग्रेकोले हो भन्ने धेरेको अड्कलबाजी रहेको छ । यसरी कर्जा नोक्सानी व्यवस्था बढी गर्नेमा सबैभन्दा बढी एनएमबी बैंकको १ अर्ब ४३ करोड रहेको छ ।

त्यस्तै सिद्धार्थ र सनराइज बैंकको पनि एक/एक अर्बले कर्जा नोक्सानी व्यवस्था गर्नुपरेको छ । त्यस्तै गरी बीओकेले ८० करोड, एनआईबीले ७७ करोड र ग्लोबलले ६७ करोड बराबरको कर्जा नोक्सानी व्यवस्था गरेका छन् ।

स्प्रेड बढ्यो

केही वाणिज्य बैंकहरुले महामारीको यस्तो संकटपूर्ण अवस्थामा पनि ब्याजदर अन्तर स्प्रेड बढाएका छन् । आगामी असारसम्ममा यस्तो अन्तर ४.५ प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएपनि बैंकहरुले स्प्रेड बढाएर नाफा कमाउने प्रयास गरेको देखियो । अब उनीहरुको रणनीति असारको केही हप्ताअघि मात्र स्प्रेड घटाएर बाँकी अवधिको ब्याजदर अन्तरको लाभ लिन खोजेको देखिएको छ ।

नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?

सिभिल, लक्ष्मी, कृषि विकास र नेपाल बैंकको ब्याजदर स्प्रेड साढे ४ प्रतिशत मुनि रहेको छ भने अन्य बैंकको योभन्दा माथि रहेको छ । कतिपय बैंकको यस्तो ब्याजदर अन्तर ५ प्रतिशतभन्दा माथि पनि रहेको छ । ५ प्रतिशत माथि स्प्रेड रहने बैंकहरुमा माछापुछ्रे, नबिल, स्टाण्डर्ड चार्टर्ड, प्रभु, मेगा, ग्लोवल, एसबीआई, एभेरेष्ट, एनसीसी, सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट र सिद्धार्थ छन् ।

यसैगरी एनआईसी एसिया बैंकको यस्तो स्प्रेड ४.९ प्रतिशत, एनबी र एनएमबी ४.८८ प्रतिशत, सनराइज ४.८६, सिटिजन्स ४.८५, बैंक अफ काठमाण्डू ४.८ प्रतिशत रहेको छ । त्यस्तै सेन्चुरी बैंकको ४.७७, राष्ट्रिय वाणिज्य बैंकको ४.७, कुमारी बैंकको ४.६५ र प्राइम बैंकको ४.६४ प्रतिशत स्प्रेड रहेको छ ।

कर्जा वृद्धि र सञ्चालन नाफाको स्थिति

सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा ग्लोबल आईएमई पहिलो नम्बरमा रहेको छ र जनता बैंकसँग मर्ज भएको यस बैंकले २ खर्ब १ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसैगरी एनआईसी एसिया बैंकले १ खर्ब ७५ अर्ब, नबिल बैंकले १ खर्ब ५५ अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंक १ खर्ब ४३ अर्ब रुपैयाँ छ ।

त्यसैगरी, सिद्धार्थ बैंक १ खर्ब २८ अर्ब, कृषि विकास बैंक १ खर्ब २३ अर्ब, एनएमबी बैंक १ खर्ब २० अर्ब, प्राइम बैंक १ खर्ब १५ अर्ब, हिमालयन बैंक १ खर्ब १० अर्ब, नेपाल बैंक १ खर्ब ५ अर्ब, प्रभु १ खर्ब २ अर्ब र एसबीआई १ खर्ब लगानी गरी खर्बभन्दा माथि कर्जा पोर्टफोलियो भएका ठूला बैंकको रुपमा रहेका छन् ।

त्यस्तै, सञ्चालन मुनाफाका दृष्टिले सबैभन्दा बढी नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक ४ अर्बभन्दा बढी, ग्लोबल बैंक ३ अर्ब ७९ करोड, इन्भेष्टमेन्ट बैंक ३ अर्ब ५६ करोड, एभरेष्ट बैंक ३ अर्ब ३६ करोड, प्राइम बैंक २ अर्ब ८९ करोड कमाएका छन् ।

त्यस्तै कृषि विकास बैंक २ अर्ब ७० करोड, नेपाल बैंक २ अर्ब ६५ करोड, स्टाण्डर्ड चार्टर्ड २ अर्ब ५७ करोड, सानिमा बैंक २ अर्ब २९ करोड, हिमालयन र प्रभु बैंक २ अर्ब ८ करोड, मेगा २ अर्ब र एसबीआई २ अर्ब ४ करोड नाफा गरी २ अर्बभन्दा बढी सञ्चालन नाफा गर्ने बैंकमा आफ्नो नाम दर्ता गराएका छन् ।


पुष्प दुलाल