इलाममा रास्वपा र एकीकृत समाजवादीसहित १६ उम्मेदवारले जमानत जोगाउन सकेनन्, कहाँ चुक्यो घण्टी ?



इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे ।

निर्वाचनका लागि उम्मेदवारी घोषणासँगै प्रचारप्रसारलाई व्यापक बनाएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाममा जमानत जोगाउन समेत सकेन ।

पुराना दललाई जनताले साथ नदिने र आफूहरुको जित घोषणा हुन मात्र बाँकी रहेको रास्वपाका शीर्ष नेतृत्वले बताएको भए पनि निर्वाचन मत परिणाम भने त्यस अनुसार आउन नसकेको हो ।

निर्वाचनको प्रचार प्रसारका लागि गाउँ गाउँ पुगेका रास्वपा उम्मेदवार मिलन लिम्बूले कृषकसँगै बारीमा पुगेर खन्नेदेखि डोको बुन्ने सम्मको काम गरेको भिडियो रास्वपाले प्रचार गरेको थियो भने मिलनलाई मतको आह्वान गर्दै गीत सार्वजनिक गरेको थियो तर मत भने त्यसअनुसार आउन सकेन ।

मिलनले आफ्नै वडामा पनि राम्रो मत पाउन सकेनन् । अन्तिम निर्वाचन परिणाम अनुसार मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् ।

इलाममा रास्वपाले राम्रै मत ल्याउने धेरैको अनुमान थियो । मुख्य प्रतिस्पर्धा रास्वपा र कांग्रेस एमाले मध्येको एक दलसँग हुन सक्ने विश्लेषण इलाम बाहिर भइरहेको थियो । पुराना भनिएका दलसँग मतदाता वाक्क भएकाले इलाममा पनि घण्टी बज्ने दाबी धेरैको थियो, स्वयं रास्वपाले यसको प्रचार गरेको थियो । तर रास्वपाले भने जस्तो पुराना दलबाट इलामेली जनता वाक्क नभएको पाइएको छ ।

रास्वपाले राम्रो मत पाउन नसक्नु पछिल्लो समय पार्टी नेतृत्व सहकारी ठगी प्रकरणमा मुछिनु र सत्तामा रहेर पनि अन्य दलका मन्त्रीहरुले भन्दा राम्रो प्रदर्शन गर्न नसक्नुलाई लिन सकिने कतिपयको बुझाइ छ ।

पार्टी सभापति रवि लामिछाने, उपाध्यक्ष डीपी अर्याल लगायतक पदाधिकारी सहकारी ठगीमा मुछिएपछि त्यसको हानी निर्वाचन परिणाममा देखिएको छ । लामिछानेले नयाँ सत्ता गठबन्धनका क्रममा गृह मन्त्रालमा देखाएको लालसाले गर्दा नयाँ भनिएको दल पनि पुरानै दलको कित्तामा पुग्यो ।

इलाममा रास्वपाको मत कम आउनुमा पहिचानवादी उम्मेदवारले पाएको मत पनि कारण बन्यो । उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार चार सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे ।

पछिल्लो समय पहिचानवादीको मत विभाजित हुँदा अन्य मत पनि मिलनलाई गएन । उनले यसअघि ‘बाहुन क्षेत्री…’ बारे चलाएको अभियान भन्दै भाइरल भएको भिडियोले पनि बाहुन क्षेत्री पक्षधर कतिपयको भोट घटेको अनुमान इलामका मतदाताको छ ।

त्यसो त मिलन रास्वपाबाट उम्मेदवार बन्नु केही दिनअघि सम्म नेकपा माओवादी केन्द्रमा सक्रिय थिए । सुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनी रास्वपा प्रवेश गर्दै उम्मेदवार बनेका थिए ।

मिलनसहित १६ उम्मेदवारको धरौटी जफत

इलाममा रास्वपासहित १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।

इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।


क्लिकमान्डु