कोरोनाले गर्दा अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न राष्ट्र बैंक केन्द्रीत: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको कारण अर्थतन्त्रमा परेको समस्या न्यूनिकरण गर्न राष्ट्र बैंक केन्द्रीत रहेको बताएका छन् ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ आयोजना भएको वेबीनारमा अर्थतन्त्रलाई उकास्न राष्ट्र बैंकले आवश्यक पहल गर्ने बताए ।

विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकोमा हाल विश्वव्यापी रूपमा देखापरेको कोभिड-१९ को विषम परिस्थितिका कारण मुलुक बन्दाबन्दी अवस्थामा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थासमेत रहेकोले बैंकले चालू वर्ष वेबीनार मार्पmत उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा बैंक तथा वित्तीय संस्था,पूँजी  बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थविज्ञसँग बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको हो । सो अवसरमा बैंकका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्दै उक्त वेबीनार कार्यक्रमको सहजीकरण गरेका थिए ।

उक्त वेबीनार कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उनीहरूले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका थिए ।

गभर्नर अधिकारीले सहभागीहरूबाट प्राप्त सुझावहरूसमेतको आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।


क्लिकमान्डु