राजस्व तिर्न सरकारी खातामा पैसा गएपछि बैंकमा तरलता अभाव, अन्तर बैंक ब्याजदर ५ % भन्दा बढी



काठमाडौं । बैंकहरु बीच एक आपसमा आपसी सापटी कारोबारको ब्याजदर (अन्तर बैंक ब्याजदर) बढेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव भएसँगै बैंकहरुले एक आपसमा सापटी कारोबार बढाइरहेका छन् ।

गत पुस २२ गते ०.९८ प्रतिशत ब्याजदरमा कारोबार भएको अन्तर बैंक कारोबारको ब्याजदर १५ दिनमै ४.४० प्रतिशत बढी ५.३९ प्रतिशत ब्याजदरमा कारोबार भइरहेको छ ।

गत पुस मसान्तसम्म ५० अर्ब रुपैयाँ बढी बैकिङ क्षेत्रमा तरलता रहेकोमा माघ ६ गते १९ अर्ब रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरु लगानीयोग्य रकमको अभाव भएर कर्जाको गर्जो टार्न आवश्यकता अनुसार बैंकहरुले सापटी कारोबार बढाएका कारण ब्याजदर बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूलाई बताए ।

राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत् पैसा तान्ने र कम भए रिपोमार्फत् बजारमा पैसा प्रवाह गर्दै आएको छ ।

‘गत पुस मसान्तमा सरकारको राजश्व संकलन भएपछि बैंकहरुमा तरलतामा दवाब छ,’ उनले भने, ‘तरलता अभाव भएको कारण बैंकहरु बीचको आपसी सापटी कारोबार बढेकाले ब्याजदर पनि ५ प्रतिशत माथि पुगेको छ ।’

बजारमा तरलता प्रवाह गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरी बैंकहरुले खरिद समेत गरिसकेको उनले बताए । हाल बैंकहरुको मागअनुसार सो रिपो अपुग भएका कारण पुनः रिपो जारी गर्ने लागेको उनले जानकारी दिए ।

‘बैंकहरुको माग अत्यधिक छ, माग २० अर्ब ९ करोड रुपैयाँ बढी भए पनि माग अनुसारको रिपो जारी हुनसकेन,’ उनले भने ।

भोलिसम्म अन्तर बैंक ब्याजदर ४.५० प्रतिशतभन्दा माथि रह्यो भने पुनः बजारको आवश्यकता अनुसार भोलि नै रिपो जारी गर्ने उनले बताए ।

हाल बजारमा देखिएको तरलता अभाव जारी गरिएको रिपोका कारण अन्तर बैंक कारोबार कम भइ अन्तर बैंक ब्याजदर घट्ने राष्ट्र बैंकको विश्वास छ ।

चालु आर्थिक वर्षको ६ महिना अर्थात् गत असार मसान्तदेखि पुस मसान्तसम्म १ खर्ब ७४ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । गत सातासम्म समान्य नै रहेको अन्तर बैंक कारोबार १ सातामा अत्यधिक भएको राष्ट्र बैंकले जनाएको छ ।

गत माघ १ गते बुधबारदेखि माघ ६ गते सोमबारसम्म ६ दिनमा मात्रै ४५ अर्ब ८७ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकले तथ्यांक छ ।

कारोबार बढेसँगै कारोबारको ब्याजदर पनि १ सातामा अत्यधिक बढेको छ । माघ १ गते ३.५१ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर २ गते ४.०३ प्रतिशत, ३ गते ४.२७ प्रतिशत, ४ गते ४.६९ प्रतिशत, ५ गते ५.१९ प्रतिशत र ६ गते ५.३९ प्रतिशतमा कारोबार भएको थियो ।


क्लिकमान्डु