ग्याजेटभित्रको अवैध धन्दाः ८० लाख मूल्य पर्ने आइफोन र आइप्याडसहित २ जना पक्राउ



काठमाडौं । भन्सार छली ल्याइएका मोबाइल, आइप्याडलगायतका सामानसहित अवैध कारोबार गर्दै आएका २ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार ८० लाख बजार मूल्य भएका ती समानसहित उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर टेकुले बिहीबार पत्रकार सम्मेलन गर्दै टेंगालस्थित हरिबहादुर श्रेष्ठको घरमा लुकाइ राखेको उक्त सामान बरामद गरिएको जानकारी दिएको छ ।

कारोबारमा संलग्न कामपना–१५ चमतिका निकेश शाक्य र नुवाकोट बुद्धसिंहकि रेश्मा श्रेष्ठलाई महानगरीय प्रहरी वृत स्वयम्भूबाट गएको प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अवैध भन्सार छली गरी ल्याएका सामानसहित १५ लाख ७७ हजार रुपैयाँ नगद, एनएमबि बैंकको २ लाख रुपैयाँको चेक र सोही खाताको ३ लाख ७३ हजार रुपैयाँको एक थान चेक बरामद गरेको छ ।

प्रहरीले बिल भरपाइ भन्सार छली गरी ल्याएको विभिन्न कम्पनीको मोबाइल, ल्यापट, आइप्याड, घडी, एयरफोन, माउस, क्यामरा लेन्स, पेन्सिललगायतका जिन्सी तथा नगद बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको ७४ वटा सामानको मूल्य ५२ लाख ८७ हजार उल्लेख गरे पनि उक्त सामानको बिक्री गर्दा ८० लाख रुपैयाँ पर्ने जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त ५२ लाख रुपैयाँ भन्सार दरभन्दा बाहेकको भएको प्रहरीले जानकारी दिएको छ ।

परिसरले पत्रकार सम्मेलन गर्दै उक्त सामान बिहीबार नै राजस्व अनुसन्धान विभागमा थप अनुसन्धानका लागि पठाउने जानकारी दिएको छ ।

प्रहरीका अनुसार ती सामानहरु कुन भन्सार बिन्दुबाट ल्याइएको भन्ने यकिन छैन । एक प्रहरी अधिकारीले कतिपय सामान हङकङ, सिंगापुरबाट आउनेलाई एक/एक थान आफ्नो आफन्तलाई उपहारस्वरुप लगिदिनु तपाईलाई भेट्न आउँछ भन्छ भन्दै पठाउने र ती सामान अवैधरुपमा कर छली गरी बिक्री हुँदै आएको जानकारी दिए ।


क्लिकमान्डु