जीवन बीमा कम्पनीका कर्मचारीलाई टार्गेटले जागिरमा तनाव, कर्मचारी टिकाउन गाह्रो
काठमाडौं । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु आजका दिनमा जागिरका लागि आकर्षणका केन्द्र हुन् ।
मुलुकमा बढ्दो गएको वित्तीय पहुँच तथा बीमाको बजार बिस्तारले रोजगारी मात्रै बढाएको छैन यसले आर्थिक र सामाजिक रुपमा समेत योगदान गरिरहेको छ ।
बीमा कम्पनीको बढ्दो संख्या, शाखाहरुको विस्तार तथा चेतनाले बीमा कम्पनीमा काम गर्न चाहनेका लागि अवसर पनि उत्तिकै उपलब्ध गराएको छ । यसलाई महिनै पिच्छे पत्रपत्रिकामा देखिने बीमा कम्पनीले खुलाउने ‘भ्याकेन्सी’का विज्ञापनले पनि पुष्टि गर्छ ।
मुलुकमा बढ्दो शैक्षिक बेरोजगारहरुको जमातमा यस्ता विज्ञापनमा आवेदन नपर्ने होइन तर कर्मचारी छाडेर अर्कै कम्पनीमा छिटो–छिटो स्थानान्तरण हुनाले यस्तो समस्या देखिएको हो ।
जीवन बीमामा किन छैन आकर्षण ?
शिक्षित भनिने बेरोजगारहरु विदेश पलायन हुने संख्या प्रत्येक दिन बढ्दो छ । अझ एक पटक विदेशी भूमिमा पाइला टेकेर पौरख गर्ने चाहना त सबै जसो मानिसमा छ भन्दा अत्युक्ती नहोला ।
तर, सम्भावना भएको र राम्रो मानिने बीमा क्षेत्रमा प्रशस्त रोजगारीका अवसरमा आकर्षण न्यून हुनु पक्कै पनि राम्रो होइन । पत्रपत्रिकामा जीवन बीमा कम्पनीले छपाउने भ्याकेन्सीका विज्ञापनमा त्यत्ति चासो दिएको पाइँदैन् ।
बीमा समितिका अनुसार बीमाको पहुँच १७ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । बीमाको पहुँच र बीमा सम्बन्धी सचेतना नेपालमा अन्य मुलुकहरुको तुलनामा न्यून छ ।
बीमा कम्पनीले पैसा लैजान्छन तर फिर्ता दिँदैनन्, बीमा गर्नु पैसा खेर फ्याक्नु हो मानसिकता अझै पनि छ । बीमाबारे स्पष्ट रुपमा अझै पनि बुझाउन सकिएको छैन । जसले गर्दा बीमा पोलेसी बिक्री गर्नका लागि कर्मचारीलाई चुनौतीपूर्ण छ ।
हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनी गरी ३९ वटा बीमा कम्पनी सञ्चालनमा छन् । आज पनि अधिकांश नेपालीले रहरमा भन्दा बाध्यतामा बीमा गरिरहेको अवस्था छ ।
बैंकबाट कर्जा लिँदा होस्, सवारी साधान खरिद गर्दा होस् वा घर जग्गा र व्यवसायको लागि होस् आवश्यकता भन्दा अनिवार्य नियमका कारण मात्र बीमा गर्ने धेरै छन् । सकारात्मक रुपमा हेर्दा त्यसको फाइदा निर्जीवन बीमा कम्पनीलाई भएको छ । निर्जीवन बीमा कम्पनीमा अनिवार्य नियमले व्यवसायमा फाइदै गरेको छ ।
तर जीवन बीमा कम्पनीको हकमा भने बाध्यकारी नियम नहुँदा व्यवसायको आकार बढाउन समस्या देखिएको छ ।
बीमा समितिले पछिल्लो पटक ९ वटा जीवन बीमा कम्पनीलाई सञ्चालनको अनुमती दियो । त्यसपछि बीमा क्षेत्रमा प्रशस्त रोजगारीका अवसर सिर्जना भए । तर बीमा पोलिसी बिक्री गराउने अप्ठ्यारो अवस्थाका कारण त्यहाँ काम गर्ने रोजगारी स्थायी हुन सकेको छैन ।
व्यवस्थापन संकायमा स्नातकोत्तर सकेर जीवन बीमा कम्पनीमा जागिरे भएका कर्मचारीलाई अहिले आफ्नो जागिर निल्नु न ओकल्नु भएको छ ।
‘राम्रै होला भनेर जीवन बीमा कम्पनीमा जागिरे भए, अहिले पछुतो भइरहेको छ, प्रतिस्पर्धामा जानुपर्छ भन्दै कम्पनी काम बढी खोज्छ तर सेवा सुविधा न्यून दिन्छ,’ जागिर छोडेर विदेश जाने मनस्थिती बनाएका तीन कर्मचारीले भने ।
ती कर्मचारी जीवन बीमाका फाइदा र यसका सकारात्मक पक्षबारे आवश्यक जानकारी जनमानसमा पुर्याउन नकिएको तर्क गर्छन् । जसको असर काम गर्ने कर्मचारीमा परेको देखिन्छ ।
‘एकातिर मानिसलाई बुझाउनै गाह्रो छ, त्यसमाथि दैनिक एउटा मात्रै भए पनि पोलिसी बिक्री गर्नुपर्ने कम्पनीको बाध्यकारी नियमले चेपुवामा हामी परिरहेका छौं,’ ती अधिकारीले भने, ‘हरेक दिन बीमाबारे आफन्त, छिमेकीलाई जीवन बीमाको पाठ पढाएर जागिर बचाउनु परिरहेको छ ।’
‘जीवन बीमा गर्नेहरुको हालत कतिसम्म भने, पोलिसीबारे आममानिसलाई भन्ने पर्यो, त्यसमा साथीभाई, आफन्त नै हुन्छ, सामाजिक सञ्जालमा बोल्न खोज्यो भने पनि लौ यसले त बीमाकै कुरा गर्छ भने झैँ बोल्न गाह्रो मान्छ’ ती कर्मचारीले दुखेसो पोखे ।
कर्मचारीलाई टार्गेटका टेन्सन
कुनै पनि कर्मचारीलाई निश्चित जिम्मेवारी दिइएको हुन्छ, जसमा उसको लक्ष्य समेत निर्धारण गरिएको हुन्छ । कतिपय ठाउँमा निश्चित लक्ष्य हुन्छ भने कतिपय ठाउँमा लक्ष्यलाई प्रभावकारितामा नापिन्छ ।
बीमा कम्पनीको हकमा पोलिसी बिक्री गर्नु हो र त्यसबाट प्रिमियत संकलन गर्नु हो । कर्मचारीहरुलाई पोलिसी बिक्री गर्न र प्रिमियम संकलन गर्नका लागि निश्चित लक्ष्य दिइएको हुन्छ ।
तर सर्वसाधारणलाई बीमाको पोलिसी बिक्री गर्नु निकै चुनौतीपूर्ण छ । कनिकुँथी एक महिना टार्गेट पूरा गरे पनि अर्को महिना फेरि त्यही समस्या आउने भएकाले टार्गेट पूरा हुँदैन । जसमा राम्रो काम गर्ने र हरेक महिना टार्गेट पूरा गर्नेलाई अर्को कम्पनीले अझ बढी सेवा सुविधामा तानिहाल्छ ।
कम्पनीमा नियुक्त भएको २ महिना नै नपुग्दै टार्गेट पूरा हुँदैन । पछि यही टार्गेट कर्मचारीका लागि तगारो बनिदिन्छ । जसले जीवन बीमा कम्पनीमा कर्मचारी टिकाउनै गाह्रो भइरहेको छ । र, यो कम्पनीका तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीमा देखिएको छ ।
काँधभन्दा ठूलो जिम्मेवारी
बजारमा नयाँ जीवन बीमा कम्पनी त आए । तर आउने वित्तिकै पहिलो गाँसमै ढुंगा लागे जस्तो भयो । राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिदियो । यसले जीवन बीमा कम्पनीको समस्या अझ बढाइदियो । र, सबै जिम्मेवारी कर्मचारीमा सीमित भइदियो ।
‘कम्पनीहरुले काँधभन्दा ठूलो जिम्मेवारी थपिदिन्छ, दिइएको समयमा नै तोकिएको टार्गेट पूरा गर्नुपर्छ नत्र चेतावनी पनि दिइन्छ, अनि जागिरमा तनाव त हुने नै भयो’ एक कर्मचारीले क्लिकमाण्डूसँग भने ।
बजार उही हो । जनचेतनाको अवस्था पनि उही हो । यसै बजारमा नयाँ बीमा कम्पनीहरुले पुराना जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । फेरि सर्वसाधारणमा पनि एउटा कम्पनीमा जीवन बीमा गरिसकेपछि अर्कौ कम्पनीमा दोहोर्याएर बीमा गराउने सुरुमा गराउनुभन्दा पनि गाह्रो छ । तर कम्पनीलाई त व्यवसाय गर्नुछ, त्यसको बोझ बोर्डले सीईओलाई, सीइओले मार्केटिङ हेडले ब्रान्च म्यानेजर र अरु कर्मचारीहरुलाई टार्गेट पूरा गर्न दवाब दिन्छन् ।
नयाँ आएका जीवन बीमा कम्पनीहरु छोटो समयमा नै ठूलो व्यवसायीक उपलव्धी हासिल गर्ने लक्ष्य लिएर आएका छन् । त्यही लक्ष्य कर्मचारीमा हावी भएको देखिन्छ ।
ग्रामिण क्षेत्रमा भन्दा सहरमुखी भएर बीमा कम्पनीहरु व्यवसाय भइरहेका छन् । काठमाडौमा नै केन्द्रित भएर सबैले व्यवसाय गर्ने हुँदा बीमा पोलेसी बिक्री गर्न गाह्रो भएको नयाँ बीमा कम्पनीको कर्मचारीको अनुभव छ ।
‘बजारमा यति धेरै प्रस्तिपर्धा छ, पुरानो बीमा कम्पनीहरुले सबै ओगटेका छन्,’ उनले भने ‘एक जनाले २ पटक जीवन बीमा पटक्कै गर्दैनन् ।’
बोलेकै आधारमा बीमा हुन नसक्ने हुँदा बीमा कम्पनीका मालिक तथा माथिल्लो तहका अधिकृतहरुले तल्लो तहका कर्मचारीलाई व्यवसाय ल्याउन दवाव नदिन उनले आग्रह गरे ।
नियुक्ति गर्नुभन्दा कर्मचारी गुमाउनुको भय सीईओहरुमा
व्यवसाय बढाउँदै बढी नाफा कमाउने होडबाजी सबै क्षेत्रका कम्पनीमा हुन्छ । बीमा क्षेत्रको नयाँ जीवन बीमा कम्पनीमा व्यवसायमा प्रतिस्पर्धा गर्ने होड धेरै छ ।
राम्रो नाफा आर्जन गर्दै व्यवसाय अगाडि बढाउन जुनसुकै संघ सस्थामा दक्ष तथा आफ्नो कामप्रति लगनशीलता भएको कर्मचारी आवश्यक पर्छ । नयाँ कर्मचारी पाउनुभन्दा पुराना कर्मचारी गुमाउनुको भय कम्पनीका सीईओहरुमा हुने गरेको छ ।
नयाँ कर्मचारी ल्याएर ६ महिनादेखि १ वर्षसम्म बीमा व्यवसाय कसरी गर्ने भनेर सिकाएर दक्ष बनायो तर दक्ष भइसकेका कर्मचारीलाई अर्को कम्पनीले पदको लोभ देखाएर लैजाने जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको भनाइ छ ।
‘१ जना नयाँ कर्मचारी कम्पनीमा नियुक्त गरेर तालिम दिएर व्यवसायका लागि पोख्त बनाउँदा कम्पनीको ५ लाख रुपैयाँ बढी खर्च भइसक्छ,’ उनले भने ‘कर्मचारीमा भएको खर्चभन्दा त्यो कर्मचारी कम्पनीबाट निस्कँदा बढी नोक्सान हुन्छ ।’
बीमा समितिले बढ्दो स्थानान्तरणका लागि सीईओलाई ६ महिना कुलिङ पिरियड तोकेको थियो । साथै, बीमा संघले निर्जीवनका कर्मचारीलाई १ महिनाको कुलिङ पिरियड तोकिदिएको छ ।
तर कर्मचारीका लागि तोकिएको १ महिनाको कुलिङ पिरियडले स्थास्तान्तरणमा केही असर भने नपरेको महालक्ष्मी लाइफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अनुभव ।
‘अनुभवी कर्मचारी ल्याउन कम्पनीहरुले १ महिनाको तलब थप गरेर ल्याउने हुँदा त्यसको असर कर्मचारीहरुमा छैन,’ उनले भने ‘बीमा समितिले कर्मचारीलाई पनि कम्पनी न्यूनतम सेवा अवधी र कुलिङ पिरियड तोकिदिनु पर्छ ।’
बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई बीमा समितिले ६ महिनाको कुलिङ पिरियड र १ वर्षसम्म भएपनि एउटा कम्पनीमा काम गर्नैपर्ने नियम लागू गर्नुपर्ने उनको माग छ ।
कर्मचारीको सेवा अवधि र कुलिङ पिरियड तोक्दै बीमा समिति
बीमा समितिले अब सबै बीमा कम्पनीका कर्मचारीलाई पनि कुलिङ पिरियड लागू गर्ने भएको छ । केही समय अगाडि निर्जीवन बीमक संघले निर्जीवन कम्पनीहरुको कर्मचारीहरुलाई कुलिङ पिरियड लागू गरेको थियो ।
संघले निर्जीवन बीमा बीमक आचारसहिंता परिवर्तन गरी कर्मचारीहरुलाई १ महिनाको कुलिङ पिरियड लागू गरिएको थियो ।
यसपछि कुनै एक निर्जीवन बीमा कम्पनीबाट राजीनामा स्वीकृत भएको १ महिनापछि मात्र अर्को निर्जीवन बीमा कम्पनीमा जागिर खान पाउने भएको छन् । सोहि व्यवस्थालाई निरन्तरता दिँदै बीमा समितिले अब सबै बीमा कम्पनीहरुको कर्मचारीलाई कम्पनीमा न्यूनतम सेवा अवधि र कुलिङ पिरियड लागू गर्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘हामीले यस विषयमा प्रारम्भिक छलफल गरिसकेको छौँ,’ उनले भने ‘जीवन र निर्जीवन कम्पनीमा कति समय तोक्ने भन्ने टुंगो लागेको छैन ।’ कर्मचारी स्तान्तरणको समस्याको कारणले समितिले यस्तो व्यवस्था लागू गर्न लागेको पौडेलको भनाइ छ ।
कर्मचारी स्थानान्तरण रोक्न बीमा कम्पनीहरु नै सचेत हुनु पर्ने रिलाइन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीको भनाइ छ ।
‘बीमा कम्पनीहरु टिकाउन वा नयाँ कर्मचारी ल्याउन प्रमोसनलाई माध्यम बनाइरहेका छन्,’ उनले भने ‘कर्मचारी टिकाउन प्रमोसनलाई उसको ग्रोथ, कम्पनीमा आवद्ध भएर दिएको सेवा अवधि र संस्थाले दिने सुविधामा पनि ध्यान दिनुपर्छ ।’
कम्पनीहरु आफैले आपसी सम्झदारी गर्दा यो समस्या आफै हटेर जाने उनले बताए ।
‘कुनै पनि कर्मचारीले बीमा क्षेत्रको नै सबैभन्दा धेरै प्रिमियम संकलन गरेको छ भन्दैमा उसलाई सीईओ बनाउने त कुरा हुँदैन, पद भनेको एकपटक ल्याएको विजनेसलाई हेरेर भन्दा कर्मचारीको अनुभव र परिपक्कताको आधारमा दिइनु पर्छ’ पराजुलीले भने ।
बीमा क्षेत्रमा दक्ष कर्मचारीको आवश्यकता पूरा गर्न बीमा समितिले विगत २ वर्षयता कर्मचारीलाई क्षमता अभिवृद्धिको तालिम पनि दिइरहेको छ । हालसम्म यस्तो प्रकारको तालिममा २ हजारभन्दा बढी कर्मचारीहरु सहभागी भइसकेको समितिको भनाइ छ ।
बीमा क्षेत्रमा कर्मचारीको स्थान्तरण न्यूत कार्यदक्षता कारण भएको बीमा समितिका कार्यकारी निर्देशक पौडेलको भनाइ छ । ‘नयाँ बीमा कम्पनीहरु थपिएपछि कर्मचारी स्तान्तरणको रेसियो ह्वातै बढेको थियो,’ पौडेल भन्छन् ‘यही अवस्थाको अन्त्य गर्न हामीले कर्मचारीहरुलाई तालिम दिन सुरु गरेका हौँ ।’ कर्मचारीको कार्य क्षमता वृद्धि भएर स्थानान्तरण रेसियो बिस्तारै घट्ने उनको विश्वास छ ।
कर्मचारी अभावलाई झेल्दै व्यवसायमा तीव्रता दिन र सञ्चालकहरुले दिएको टार्गेट पूरा गर्न बीमा कम्पनीको सीइओहरुलाई गाह्रो छ । कम्पनीमा काम गरिरहेका दक्ष तथा अनुभवी कर्मचारीलाई अर्को कम्पनीले पदको लोभ नै देखाएर तान्दा अझ समस्या थपिएको प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले क्लिकमाण्डूलाई बताए ।
‘अर्कोे कम्पनीका पुरानो कर्मचारीलाई १÷२ तह माथि प्रमोसन दिएर ल्याउन सजिलो हुने भएको अहिले विकृति बढेको छ,’ उनले भने ‘मेरो कम्पनीमा असिस्टेन तहमा काम गर्ने कर्मचारी नयाँ आएका बीमा कम्पनीहरुमा अधिकृत तहमा छन् ।’
पदको लोभ देखाएर नै कर्मचारी तान्ने प्रवृतिले बिना अनुभव र कार्यदक्षता भएका कर्मचारीहरु जीवन बीमा कम्पनीको माथिल्लो तहमा रहेको उनको भनाइ छ ।
पदको प्रलोभनमा कर्मचारी
बीमा कम्पनीहरुले नयाँ कर्मचारीलाई खर्च गर्ने झन्झट गर्नुभन्दा अर्को कम्पनीको अनुभवी कर्मचारीलाई माथिल्लो पदको लोभ दिएर लैजाने महालक्ष्मी लाइफ इन्सोरेन्सका सीईओ रमेश कुमार भट्टराईको भनाइ छ ।
‘महालक्ष्मीबाट मात्रै अघिल्लो महिना १५ जना ब्राञ्च म्यानेजरले जागिर छोडे,’ उनी भन्छन् ‘ती सबै महालक्ष्मीभन्दा पुराना कम्पनीहरुका केन्द्रीय कार्यालयमा म्यानेजर भएर बसेका छन् ।’
केही कर्मचारीलाई त काम गर्न नै नसकेर जागिर छोड भन्ने स्थिती आउने र केही कर्मचारीले नयाँ बीमा कम्पनीलाई काम सिक्ने ठाँउ मात्र बनाएको उनको गुनासो छ ।
कर्मचारी पनि कुनै एक कम्पनीले आफू कार्यरत पदभन्दा माथिल्लो तहको पद अफर गर्ने बित्तिकै अर्को कम्पनीमा जाने प्रवृति भएको हालसम्म ३ वटा बीमा कम्पनीका काम गरिसकेका एक कर्मचारीले क्लिकमाण्डूलाई बताए ।
‘मैले नेपाल लाइफबाट आफ्नो करिअर सुरु गरे, त्यहाँ मैले ट्रेनी भएर काम गरे,’ उनले भने त्यहाँ हुँदा एसियन लाइफ इस्सोरेन्सबाट असिस्टेन म्यानेजरको अफर आयो तर त्यहाँ हुँदा नयाँ बीमा कम्पनीबाट ब्राञ्च म्यानेजरको लागि अफर गरियो त्यो छोडेर यहाँ आएर म खुसी छु ।’
संस्थाभन्दा आफ्नो करिअरको लागि राम्रो हुने देखेर नयाँ कम्पनीमा जागिरे भएको उनको भनाइ छ ।