अर्थमन्त्री खतिवडा हटेनन्, लालबाबु र गाेकर्ण हटे, यस्तो छ नयाँ मन्त्रिमण्डल (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रिमण्डलको सूची पठाइएको हो ।

प्रधानमन्त्री ओलीले केही मन्त्री तथा राज्यमन्त्री हटाएका छन भने केही मन्त्रीहरुको मन्त्रालय परिवर्तन गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाएको नयाँ मन्त्रिमण्डलको सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो ।

यी भए नयाँ मन्त्री
हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको छ । त्यस्तै, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी मन्त्री बनाइएको छ ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट भएका छन् । रामश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बसन्तकुमार नेम्वाङ नियुक्ती भएका छन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङ नियुक्ती भएका छन् । त्यस्तै, मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामविर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

यी मन्त्री हटे
प्रधानमन्त्रीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विस्ट र संघीय मामिलामन्त्री लालबाबु पण्डितलाई हटाएका छन् ।

त्यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटेका छन् ।

यी मन्त्रीको मन्त्रालय फेरियो
स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई उपप्रधानमन्त्री सहित कानून न्याय तथा संसदीय मामिला मन्त्री बनाइएको छ । भने भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ ।

नयाँ नियुक्त भएका मन्त्रीहरूको सपथ भोलि बिहीबार हुनेछ ।


क्लिकमान्डु