सन् २०२६ मा फिफाले ९ अर्ब डलरभन्दा बढीको कीर्तिमानी आम्दानी गर्ने प्रक्षेपण

70
Shares

एजेन्सी । अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य विश्वकप आइतबार सम्पन्न भएको छ । विश्वकपको फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो उपाधि चुमेको छ ।

बार्सिलोनाका फरवार्ड फेरान टोरेसले अन्ततः निराशाजनक बनेको फाइनलमा एक मात्र गोल गरे । त्यसले स्पेनलाई दोस्रो विश्वकप उपाधि दिलायो । स्पेनका डिफेन्डर पाउ कुबार्सीलाई फाउल गरेपछि एन्जो फर्नान्डेजले दोस्रो पहेंलो कार्ड पाएर मैदान छाडेसँगै अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

मडोना, जस्टिन बिबर, बीटीएस र शकिरा जस्ता कलाकारहरूले विश्वकपको इतिहासमै पहिलोपटक आयोजना गरिएको हाफ–टाइम शोमा प्रस्तुति दिएका थिए । त्यसले खेलको विश्रामलाई २७ मिनेटभन्दा लामो बनायो र टिप्पणीकार तथा प्रशंसकहरूको आलोचना खेप्नुपर्यो ।

पर्दापछाडि भने फिफा यो प्रतियोगिताको आर्थिक विजेता बन्ने कुरामा सधैं निश्चित थियो । विश्व फुटबलको सर्वोच्च निकायले इतिहासकै सबैभन्दा लाभदायक खेलकुद कार्यक्रमको अध्यक्षता गर्यो र आफ्नै अनुमान अनुसार सन् २०२६ मा ९ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सफल हुने देखिएको छ ।

चार वर्षअघिको ३२ टोलीको तुलनामा यसपटक पहिलोपटक विश्वमञ्चमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । यसको अर्थ ६४ खेलको सट्टा १०४ खेलहरू भएका थिए । यो चार हप्ताको सट्टा ६ हप्ताको अवधिमा तय गरिएको थियो ।

थप खेलहरूले प्रसारकहरूलाई धेरै सामग्री बिक्री गर्न, प्रशंसकहरूका लागि धेरै टिकटहरू उपलब्ध गराउन, विज्ञापनदाताहरूका लागि थप व्यावसायिक अवसरहरू सिर्जना गर्न र ठूलो विश्वव्यापी दर्शक संख्या प्राप्त गर्न मद्दत पुर्यायो ।

अध्यक्ष जियानी इन्फान्टिनो फिफाको निर्मम व्यापारीकरण अभियानको पछाडि मुख्य शक्तिको रूपमा रहेका छन् । फिफाले कसरी विश्वकपलाई पहिले कहिल्यै नभएको तरिकाले आर्थिक लाभमा परिणत गरिरहेको छ भन्ने कुरा सीएनबीसीले अन्वेषण गरेको छ ।

४८ टोलीको ढाँचा परीक्षण गर्न उत्तरी अमेरिका एक उपयुक्त क्षेत्र देखिए तापनि यसको व्यवस्थापन विवादरहित रहेन । टिकटडेटाका अनुसार, फिफाले टिकटको मूल्यलाई लिएर आलोचना खेप्नुपर्यो । टिकटको मूल्य ६० डलरदेखि १० हजार डलरभन्दा बढीसम्म थियो र प्रवेशको औसत मूल्य ९०० डलरभन्दा बढी थियो ।

प्रतियोगिताअघि डाइनामिक मूल्य र प्रशंसकहरूको माग टिकिरहन्छ कि रहँदैन भन्नेमा प्रश्नहरू उठेका थिए । ती चिन्ताहरूका बावजुद फुटबल बेन्चमार्कका अनुसार, माग उल्लेखनीय रूपमा स्थिर रह्यो ।

‘समूह चरणमा रंगशालाहरूको उपयोग दर ९९ प्रतिशत थियो जुन लगभग सबै टिकट बिक्री भएको अवस्था हो,’ फुटबल बेन्चमार्कका सल्लाहकार निर्देशक एन्टोनियो डी सियान्नीले शुक्रबार सीएनबीसीको स्कक बक्स युरोपमा भने । ‘यसले मानिसहरू ती मूल्यहरू तिर्न इच्छुक छन् भन्ने देखायो ।’

टिकटको राम्रो बिक्रीबाट उत्साहित भएर इन्फान्टिनोले सन् २०३० मा टोलीहरूको संख्या ६४ पुर्याउने विचार अगाडि सारिसकेका छन् । ‘यी सबै मुद्दाहरू हुन् जुन हामी विश्वकपपछि समीक्षा गर्नेछौं,’ उनले जुलाई १० मा स्विट्जरल्याण्डको प्रसारण संस्था ब्लु स्पोर्ट्सलाई भनेका थिए ।

लिभरपुल विश्वविद्यालयका फुटबल वित्तका सह–प्राध्यापक किरन म्यागुइरका अनुसार, लागू भएमा ६४ टोलीको विश्वकपमा विश्वका योग्य देशहरूमध्ये लगभग एक तिहाइले प्रतियोगितामा सहभागिता जनाउनेछन् र यसले खेलको समावेशितालाई बढावा दिनेछ । ‘यो विश्वकपका लागि फुटबलको ओलम्पिक बन्ने अवसर हो, यस अर्थमा कि यो धेरै राष्ट्रहरूका लागि खुला हुनेछ,’ उनले फोनमार्फत सीएनबीसीलाई भने, ‘पदकहरू केही सीमित टोलीको हातमा केन्द्रित हुन सक्छन् तर अन्य धेरैले अब आफूले पनि सहभागिता जनाएको भन्न पाउनेछन् ।’

अमेरिकाले मेक्सिको र क्यानडासँग मिलेर आयोजना गरेको यस प्रतियोगितामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ठूलो संलग्नता रहेको छ । इन्फान्टिनोको नेतृत्वमा रहेको फिफासँग उनको घनिष्ठ सम्बन्ध रहेको छ । ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि कडा प्रयास गरेर पनि नपाएपछि फिफाले गत वर्ष उनलाई आफ्नो उद्घाटन शान्ति पुरस्कार प्रदान गरेको थियो ।

गत साता सार्वजनिक भएको ट्रम्पको सन् २०२५ को आर्थिक विवरण अनुसार, इन्फान्टिनोले उनलाई न्यु जर्सीको मेटलाइफ स्टेडियममा भएको गत जुलाईको फिफा क्लब विश्वकप फाइनलका लागि १५ हजार डलर बराबरका १० वटा टिकटहरू उपहार दिएका थिए ।

बेल्जियम विरुद्धको खेलमा रातो कार्ड पाएका अमेरिकी टोलीका खेलाडी फोलारिन बालोगनको एक खेलको प्रतिबन्ध हटाउन ट्रम्पले इन्फान्टिनोलाई फोन गरेर पुनरवलोकनका लागि आग्रह गरेको र पछि त्यो प्रतिबन्ध हटाइएको कुरा बाहिरिएपछि उनीहरूको सम्बन्ध थप छानबिनको घेरामा परेको थियो ।

‘मैले पुनरवलोकनको लागि आग्रह गरें किनभने मलाई त्यो फाउल हो जस्तो लागेको थिएन,’ ट्रम्पले भने, ‘मलाई रेड कार्ड भनेको के हो भन्ने समेत थाहा थिएन ।’

सीएनबीसीको सर्वेक्षण अनुसार, ट्रम्पको प्रमुख भूमिकाका बावजुद विश्वकपका दर्शकहरू दुवै राजनीतिक पक्षमा विभाजित नभई स्थिर रहेका छन् । ह्वाइट हाउसभन्दा बाहिर इन्फान्टिनोको विस्तारको रणनीति संस्थाबाट कोष प्राप्त गर्ने धेरै देशहरूमा लोकप्रिय साबित हुनेछ ।

एक नाफारहित संस्थाको रूपमा फिफाले कमाएको पैसा ती राष्ट्रहरूमा फुटबल पूर्वाधार निर्माण गर्न पुनः वितरण गर्छ जसले फिफा र यसका सहभागी राष्ट्रहरूबीच एक चक्रिय सम्बन्ध सिर्जना गर्छ । फिफा फरवार्ड ४.० अन्तर्गत सन् २०२७ देखि २०३० को बीचमा आफ्ना २११ सदस्य राष्ट्रहरूलाई विकासका लागि २.७ अर्ब डलर वितरण गर्ने फिफाको योजना छ ।

‘इन्फान्टिनोको नेतृत्वमा फिफाले साना देशहरूलाई धेरै पैसा दिन्छ र तिनले बदलामा उनलाई पुनः अध्यक्ष निर्वाचित हुन भोट दिन्छन्,’ म्यागुइरले थपे ।

भविष्यतर्फ हेर्दा सन् २०३० को प्रतियोगिता अझ ठूलो हुने प्रतिज्ञा गरिएको छ । त्यसका लागि फिफाले ६ अर्ब डलरको बजेट विनियोजन गरेको छ । यसमा प्रतियोगिताको १०० औं वार्षिकोत्सव मनाउन विशेष उत्सवहरू हुनेछन् जसलाई महासंघले प्रसारकहरूका लागि अझ आकर्षक कार्यक्रमका रूपमा वर्णन गरेको छ ।