दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बिनियोजन


दमौली । यहाँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी प्रदेश सरकारबाट दुई करोड बजेट विनियोजन भएको छ ।

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि उक्त बजेट विनियोजन गरेको हो ।

२०७७ चैत २३ गतेदेखि निर्माण सुरु भएको उक्त पुल निर्माण व्यवसायीको लापरवाही र बजेट अभावका कारण समयमा सम्पन्न हुन सकेको छैन । व्यास-३, देउरालीनगर र ऋषिङ-१, झापुटार जोड्ने सेती नदीमाथि निर्माणाधीन पुलको कामले पछिल्लो केही समय गति लिएको छ ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले भने, ‘अहिले पुल निर्माण तीव्र गतिमा काम भइरहेको छ । केही समय काम अलपत्र बनेपनि निर्माण व्यवसायीलाई कामका लागि ताकेतासहित निर्देशन दिएपछि कामले पुनः गति लिएको हो । अब तोकिएकै समयभित्र सम्पन्न हुने विश्वास लिइएको छ ।’

पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो । सम्झौताअनुसार काम सम्पन्न गरिएको थियो भने अहिले पुलमाथि सवारी आवागमन सञ्चालन भइसक्ने थियो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काममा ढिलाइ भएको तिवारीले बताए ।

हालसम्म चार पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि २०८३ असोज ३० गतेसम्म समयसीमा तोकिएको उहाँले जानकारी दिए ।

तिवारीले भने, ‘झापुटारतर्फ स्पानमाथि स्टिलको काम करिब सकिएको छ । व्यासतर्फको स्पानको स्टिल जोडेपछि करिब ८५ प्रतिशत काम सम्पन्न हुनेछ ।’

उनका अनुसार गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ नौ दशमलव ५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ ।

पुल निर्माणपछि व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेकाले सर्वसाधारणले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किमी दूरी तय गर्नुपर्छ । तर अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि छैन ।