
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्य घटाउन व्यवसायीहरूलाई औपचारिक आग्रह गरेको छ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएकाले त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्याउन विभागले यस्तो कदम चालेको हो।
विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएसँगै नेपाल आयल निगमले २०८३ असार १६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको छ। तसर्थ, इन्धनको मूल्य घटेसँगै ढुवानी लागत पनि कम हुने भएकाले बजारमा दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य समेत तत्काल समायोजन गर्न आवश्यक छ।’
मन्त्री यादवले इन्धनको मूल्य घट्दा पनि बजारमा वस्तुको भाउ नघट्ने र कृत्रिम अभाव वा मूल्यवृद्धि देखिन सक्ने भन्दै विभागलाई सक्रिय हुन निर्देशन दिनुभएको थियो।
मन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्दै विभागले खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री लगायतका सबै वस्तुका विक्रेता, ढुवानीकर्ता तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उपभोक्ताको अधिकार संरक्षण गर्नु राज्य र निजी क्षेत्र दुवैको साझा दायित्व हो। विभागले भनेको छ, ‘इन्धनको मूल्य घटेको प्रभाव बजारमा स्पष्ट देखिने गरी मूल्य घटाएर उपभोक्तालाई राहत दिनु सबै व्यवसायीहरूको व्यावसायिक नैतिकता र कानुनी कर्तव्य पनि हो।’
मन्त्री यादवले बजारमा अनुगमनलाई तीव्र बनाउन र मन्त्रीको निर्देशन उल्लंघन गरी अनुचित ढंगले मूल्य वृद्धि गरिएमा वा पुरानै मूल्य कायम राखेमा कडा कानुनी कारबाही अगाडि बढाउन समेत विभागलाई सचेत गराउनुभएको छ। यस निर्णयबाट आम उपभोक्ताले राहत पाउने र बजारमा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध हुने विश्वास लिइएको छ।






प्रतिक्रिया