जनता एग्रोले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

196
Shares

काठमाडौं । जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।

कम्पनीको २०८२ मंसिर २२ गते सम्पन्न साधारण सभाको निर्णयअनुसार ५० करोड रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

यस प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचा अनुरूप सम्पन्न गर्न कम्पनीले आवश्यक पेशागत सेवा प्रदायक संस्थाहरू छनोट गरी सम्झौता समेत गरिसकेको छ ।

जसअनुसार, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ ।

त्यस्तै, क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको हालको जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसमध्ये २ अर्ब रुपैयाँ प्रवर्द्धक सेयरको रूपमा रहनेछ भने बाँकी ५० करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

‘खेती देखि विक्रेतासम्म’को अवधारणालाई आत्मसाथ गर्दै जनता एग्रोले कृषि तथा वन पैदावारका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता पूर्ति गर्ने लक्ष्य राखेको छ ।

प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै ‘समृद्ध राष्ट्र र सुखी नेपाली’ को अभियानमा योगदान पुर्‍याउनु कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

कम्पनीले आफ्ना व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूबाट प्राप्त निरन्तर विश्वास र समर्थनले संस्थागत विकास र बजारप्रतिको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।

आईपीओ निष्कासनसँगै कम्पनीले आफ्नो आगामी यात्रालाई अझ सुदृढ र उत्तरदायी ढंगले अघि बढाउने विश्वास व्यक्त गरेको छ ।