
काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३-हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिका-६ बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
महोत्सव जेठ २३ गते महेन्द्रबौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुनेछ ।
कार्यक्रममा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला–हस्तकला, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति रहनेछन् ।
कार्यक्रमलाई अझ आकर्षक बनाउन द एक्स, हर्कुलेस बस्नेत,द रेन्डर, द पासा रकर्स, फुर्बा एण्ड द ब्याण्ड, स्थानीय कलाकारहरू तथा सांस्कृतिक समूहहरू को प्रस्तुति रहनेछ ।
यस अवसरमा वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताए ।
उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवद्र्धन र नया पुस्तासम्म र्पुयाउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सव बनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा महोत्सवसम्बन्धी सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका
लागि आह्वान गरिनेछ ।
कार्यक्रमको दिन सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजा, झा“क्री तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।
कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको छ ।
उत्पला क्याफे क्षेत्र, सिद्धार्थ हल क्षेत्र, बौद्ध पिपलबोट आसपास लगायत सम्भावित स्थानहरूमा पार्किङ व्यवस्था मिलाइनेछ ।
ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टिम परिचालन गरिनेछ ।
महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ ।
बौद्ध क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।





प्रतिक्रिया