अर्थतन्त्रको बाह्य क्षेत्र र सामाजिक सूचक सूचकमा सुधार, आन्तरिक गतिविधिमा भने सुस्तता 

49
Shares

काठमाडौं । नेपालको आर्थिक तथा सामाजिक स्थितिमा सुधार देखिएको आर्थिक सर्वेक्षण २०८२/८३ मा उल्लेख छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसदको दुबै सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा बाह्य क्षेत्रको स्थायित्व, विद्युत् पहुँचमा वृद्धि र गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति भएको उल्लेख गरेका छन् । उनले आन्तरिक लगानी र निजी क्षेत्रको कर्जा प्रवाहमा भने केही सुस्तता देखिएको बताएका छन् ।

नेपालको विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा कुल सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ, जसका कारण शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्बले बचतमा छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको साख बढेको छ । सन् २०२५ मा सम्पन्न सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ रेटिङका साथ ‘स्टेबल’ आउटलुक प्राप्त गरेको छ । यसले लगानीकर्ताहरूमा सकारात्मक सन्देश दिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

नेपालको मानव विकास सूचकांक ०.६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । सामाजिक क्षेत्रमा देखिएको सुधारले निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १३.४ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर १५१ (प्रति लाख) र शिशु मृत्युदर २७ (प्रति हजार) मा झरेको छ । यस्तै, ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ ।

वित्तीय पहुँचको विस्तारसँगै बैंक खाताको संख्या ६ करोड २० लाख नाघेको छ । मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड ९४ लाख पुग्दा डिजिटल भुक्तानीमा पनि उल्लेख्य सुधार भएको छ । फागुनसम्म क्युआर कोडमा आधारित कारोबार मात्रै १ खर्ब २५ अर्ब भन्दा बढी भएको छ । बैंकहरूमा अधिक तरलता र न्युन ब्याजदर भएपनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने ४.४ प्रतिशतको सुस्त वृद्धि भएको छ ।

सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका छन् । पर्यटकको औसत बसाइ १६.३४ दिन र प्रतिदिन खर्च ३३.०८ अमेरिकी डलर रहेको छ । पूर्वाधारतर्फ कालोपत्रे सडकको घनत्व बढेको छ भने कुल सडक विस्तार १ लाख ४ हजार ९ सय ६ किलोमिटर पुगेको छ ।

आर्थिक सर्वोक्षणले केही चुनौतीहरू पनि उजागर गरेको छ । कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा केवल १२.९ प्रतिशत मात्र छ ।

उद्योग क्षेत्रमा दर्ता भएका ७ हजार ९ सय ५१ परियोजना मध्ये सबैभन्दा कम खनिज उद्योगमा लगानी (१.३ प्रतिशत) रहेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले वार्षिक औसत ७ खर्ब ५५ अर्ब थप लगानी गर्नुपर्ने खाँचो देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै कार्बन व्यापारबाट ३.६ करोड अमेरिकी डलर राजस्व प्राप्त गरेको छ । मुलुकको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ, जुन विश्वव्यापी औसत भन्दा बढी हो ।

नेपालको अर्थतन्त्र बाह्य दबाबबाट मुक्त देखिए पनि आन्तरिक उत्पादन, व्यापार घाटा न्यूनीकरण र निजी क्षेत्रको मनोबल बढाउन थप पहलको आवश्यकता रहेको तथ्यांकले देखाउँछ ।